काठमाडौं- बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने राष्ट्रिय जनता पार्टी (राजपा) सांसद प्रमोदकुमार साह पक्राउ परेका छन्।
साहले सोमबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा बिहान ११ः४० मा आउनुपर्ने बुद्ध एयरको जहाज 'डिले' गरेको भन्दै काउन्टर तोडफोड गरेका थिए।
साहले सोमबार दिउँसो जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए। उनले समयमा जहाज नआएको भन्दै आक्रोशित भएर काउन्टरमा तोडफोड गरेका थिए। ढिला गरी आएको बुद्ध एयरकै जहाजमा उनी काठमाडौं आएका थिए।
साहलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो। उनी जनकपुर फर्किनका लागि त्रिभुवन विमानस्थल पुगेका थिए।
तोडफोडको उजुरी परेपछि प्रहरीले अदालतबाट पक्राउको लागि अनुमति मागेको थियो। जिल्ला अदालत धनुषाले साहलाई पक्राउ गर्न अनुमति दिएपछि उनी पक्राउ परेका हुन्।
यसअघि निजी क्षेत्रका वायुसेवा सञ्चालक संघ (आयोन)ले सांसद साहलाई सरकारले कारबाही नगरे जनकपुरका सबै उडान तथा अवतरण बन्द गर्ने चेतावनी दिएको दिएको थियो। आयोनले कारबाहीका लागि ७ दिनको अल्टिमेटम समेत दिएको थियो।
नागरिक उड्डयनबाटै उजुरी
सोपश्चात् काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदविरुद्ध जाहेरी दिए उनलाई कानुनी दायरामा ल्याइने प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रधुम्न कार्कीले बताएका थिए।
उनले सोमबार जनकपुर विमानस्थलमा भएको घटनाबारे यथार्थ जानकारी र तोडफोड तथा दुर्व्यवहारबारे प्रहरीमा जाहेरी दिन बुद्ध एयर तथा कर्मचारीलाई अनुरोध गरेका थिए। कार्कीले भनेका थिए, ‘घटनाको जानकारी पाएलगत्तै मैले धनुषा प्रहरीलाई अनुसन्धान गरी कारबाही अघि बढाउन निर्देशन दिइसकेको र घटना गराउने जोकोही भए पनि कानुनी दायरामा ल्याउँछु।’
सोपश्चात् मंगलबार बिहान १० बजे जिल्ला प्रहरी कार्यालय धनुषामा नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरधामको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधाअवरोध सृजना गरेको भन्दै उजुरी दिएको थियो। प्रहरी उपरीक्षक शेखर खनालका अनुसार मुद्दा दर्ता भएसँगै सांसद साहलाई पक्राउ गर्नका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पत्र काटिएको थियो।
सोहीअनुसार साहलाई पक्राउ गरिएको हो।
राजपा भन्छ- राज्यको तानाशाही चरित्र
यता राजपाले भने सांसद साहको पक्राउलाई राज्यको तानाशाही चरित्र भनेको छ। राजपा महासचिव केशव झाले सामान्य घटनालाई अतिरन्जित गर्दै राज्यको माथिल्लो निकायबाटै जबर्जस्ती मुद्दा दर्ता गराई राज्यले तानाशाही चरित्र देखाएको आरोप लगाएका हुन्।
'हिजो जनकपुर विमानस्थलमा बुद्ध एयरको जहाज ३ घन्टा ढिलो भएपछि किड्नीका एकजना बिरामी छटपटाउन थालेपछी जनप्रतिनिधिको हैसियतले काउन्टरमा सोध्न जादा काउन्टरका प्रतिनिधिले उल्टै धम्काउन थालेपछि सामान्य धकमधक्का भएको हो,' झाले भने, 'त्यस घटनालाई अतिरन्जित बनाई राज्यको माथिल्लो निकायबाट जबर्जस्ती मुद्दा दर्ता गराई तानाशाही चरित्र देखाएको छ।'
उनले जनकपुरमा कहिल्यै पनि जहाजहरु समयमा नआउने स्मरण गर्दै गत महिना नेपालगन्जमा पनि यस्तै कारणले आम नागरिक विरोधमा उत्रिएका जनाएका छन्। 'राज्यले जनताको सरोकार पूरा नगर्ने अनि उल्टै आवाज उठाउनेलाई दन्ड दिन खोज्ने चरित्रलाई जनताले कदापी स्वीकार्न सकिँदैन,' उनले भने।
पक्राउ परेका साहलाई जिल्ला अदालत धनुषा पठाउने तयारी छ।
उनी सर्लाहीबाट निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।