जनकपुर- राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन्।
बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सर्लाही–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा रहेको काउन्टर तोडफोड गरेका हुन्।
सांसद साहले सोमबार बिहान ११:४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा बिरामीलाई समस्या बढ्न थालेपछि आफू आक्रोशित भएर बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको स्वीकार गरेका छन्।
यता, बुद्ध एयरको काउन्टर तोडफोड गरेपछि सांसद साहलाई बुद्ध एयर व्यवस्थापन पक्षले विमान प्रवेशमै रोक लगाएको थियो। तर पछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सांसद साहले काठमाडौँका लागि उड्न पाएका थिए ।
'जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ६५ वर्षीय सौखीलाल चौधरी किड्नीका बिरामी थिए। उनलाई दिउँसो २ बजेसम्ममा चिकित्सक कहाँ पुगेर चेकजाँच गराउनुपर्ने थियो। तर, विमान आउन निकै ढिला भइरहेको थियो। त्यही आवेगमा आएपछि मैले तोडफोड गरेको हुँ,’ सांसद साहले भने।
बुद्ध एयरका व्यवस्थापन प्रमुख विजयकुमार सिंहले काठमाडौँ विमानस्थलकै प्राविधिक कारणले विमान ढिलाइ भएको स्पष्ट पारे।
‘हामीले यो विषयमा यात्रुहरुलाई जानकारी पनि गराएका थियौँ। तर, सांसद साहले आक्रोशमा आएर बुद्ध एयरको काउन्टरमा तोडफोड गर्न थाल्नुभयो। हाम्रा कर्मचारीसँग दुर्व्यवहार पनि गर्नुभयो,’ सिंहले भने।
सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था केही समयका लागि तनावग्रस्त बनेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।