काठमाडौं। बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण शनिबार देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार हाल देशभर अधिकांश स्थानमा बादल लागेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशमा भने साधारणतया बादल लाग्ने महाशाखाको पूर्वानुमान छ।
कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ।
त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। शनिबार राति देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ। महाशाखाका अनुसार चक्रवात ‘अर्नब’ को अवशेष र पश्चिमी वायुको प्रभाव आइतबार अपराह्नदेखि क्रमशः कमजोर हुँदै जाने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।