जनकपुर- जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसदलाई कानुनी दायरामा ल्याइने प्रहरीले बताएको छ।
प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रधुम्न कार्कीले राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहलाई कानुनअनुसार कारबाही गरिने बताए।
उनले सोमबार जनकपुर विमानस्थलमा भएको घटनाबारे यथार्थ जानकारी र तोडफोड तथा दुर्व्यवहारबारे प्रहरीमा जाहेरी दिन बुद्ध एयर तथा कर्मचारीलाई अनुरोध गरेका छन्। कार्कीले भने, ‘घटनाको जानकारी पाएलगत्तै मैले धनुषा प्रहरीलाई अनुसन्धान गरी कारबाही अघि बढाउन निर्देशन दिइसकेको र घटना गराउने जोकोही भए पनि कानुनी दायरामा ल्याउँछु।’
उनले तोडफोड भएको भए त्यसको विवरणसहित जाहेरी दिन आग्रह गरे। ‘जाहेरी आए म प्रचलित कानुनअनुसार संलग्नलाई कारबाही थाल्छु,’ कार्कीले भने, ‘कुनै क्षति भएको भए त्यो पनि भराइने छ।’
सर्लाही क्षेत्र नम्बर १ का सांसद साहले बुद्ध एयरको जहाज उडानमा ढिलाइ भएको भन्दै सोमबार विमानस्थलस्थित काउन्टरमा तोडफोड गरेका थिए। तोडफोडबाट बुद्ध एयरको काउन्टरको सीसाका साथै कम्प्युटरमा क्षति पुगेको छ।
सांसद साहले बुद्ध एयरका कर्मचारीलाई धक्का दिदैं धकेलेर अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।