काबुल- अफगानिस्तानका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको अवस्थाबारे संयुक्त राष्ट्र संघको एजेन्सी युनिसेफले चिन्ता व्यक्त गरेको छ।
त्यहाँका बालबालिकाले पोषणयुक्त खानेकुरा नपाएको तथा विद्यालय जान पाउने स्थिति पनि नरहेको युनिसेफले जनाएको छ।
युनिसेफका अनुसार, अफगानिस्तानमा कम्तीमा ३५ लाख बालबालिका विद्यालय बाहिर छन् भने उनीहरु पोषणयुक्त खानेकुराबाट समेत वञ्चित छन्। विद्यालय बाहिर रहेका भनिएका ३५ लाख बालबालिकामध्ये करिब ७५ प्रतिशत बालिका छन्।
विद्यालय जाने गरेका बालबालिका पनि १२ देखि १५ वर्षको उमेरभित्रै विद्यालय छोड्ने गरेका छन्।
सशस्त्र द्वन्द्वका कारण लामो समयदेखि समस्यामा परेको अफगानिस्तानका बालबालिकाको अवस्था पहिलेभन्दा नसुध्रिएको अफगानिस्तानका लागि युनिसेफका आवासीय प्रतिनिधि अदेले खोदरले बताए।
अफगानिस्तानमा डेढ दशकदेखिको हिंसाका कारण सामाजिक र आर्थिक अवस्था प्रभावित हुँदा बालबालिकाहरु आधारभूत सुविधाबाट वञ्चित हुन पुगेका छन्।
हालै गरिएको एक सर्वेक्षण अनुसार, अफगानिस्तानका करिब ६ लाख बालबालिका चरम कुपोषणमा छन्। उनीहरुको अवस्था सुधार्न पनि सो संस्थाले आग्रह गरेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।