काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । केन्द्रीय महाधिवेशनको तयारीस्वरूप देउवा पक्षले आइतबार अधिकांश जिल्लामा अधिवेशन गर्ने भएको छ ।
देउवा पक्षले यसअघि वडा, गाउँपालिका तथा नगरपालिका, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गरिसकेको छ । यद्यपि केही स्थानमा अधिवेशनका प्रक्रिया अझै बाँकी छन् ।
देउवा पक्षीय नेता दीपक कुइँकेलले आइतबारसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी रहेको जानकारी दिए । बाँकी रहेका वडा र क्षेत्रीय अधिवेशन पनि सोही अवधिमा सक्ने लक्ष्य रहेको उनले बताए ।
जिल्ला अधिवेशनपछि आगामी मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन आयोजना गर्ने देउवा पक्षको कार्यतालिका छ ।
केन्द्रीय महाधिवेशनका लागि देउवा पक्षले काठमाडौंको खुलामञ्च उपलब्ध गराउन महानगरपालिकासँग औपचारिक अनुरोध गरेको छ । करिब ८ हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनका लागि उपयुक्त स्थान अभाव रहेको भन्दै खुलामञ्चमै उद्घाटन र बन्दसत्र गर्ने तयारी गरिएको कुइँकेलले बताए ।
यसअघि संस्थापन पक्षले महाधिवेशन गर्दा फोहोर भएको भन्दै महानगरपालिकाले खुलामञ्च उपलब्ध गराउन अनिच्छा देखाएको थियो ।
भृकुटीमण्डपलाई अर्को विकल्पका रूपमा हेरिए पनि त्यहाँ ८ हजार प्रतिनिधि अटाउन कठिन हुने देउवा पक्षको भनाइ छ । त्यसैले खुलामञ्च प्रयोगको अनुमति माग्दै महानगरपालिकालाई पत्र पठाइएको कुइँकेलले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।