काठमाडौं– सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनासहित पार्टीका आन्तरिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले आइतबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटना, पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन र पूर्वसभापति शेरबहादुर देउवा पक्षले अघि बढाएको समानान्तर महाधिवेशनको तयारी मुख्य एजेन्डा रहनेछ ।
उपसभापति मधु आचार्यका अनुसार सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको विषयलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । समाचार संकलन तथा प्रकाशनसँग सम्बन्धित विषयमा प्रहरीले सञ्चारगृहमा प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिनुपर्ने अवस्था कसरी आयो भन्नेबारे बैठकमा छलफल हुनेछ ।
पत्रकार पक्राउ गर्न प्रहरी परिचालन गर्ने निर्णय कसको निर्देशनमा भएको थियो र त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत बैठकमा उठाइने आचार्यले बताए । पक्राउ परेका पत्रकार जनदबाबपछि रिहा भए पनि आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले चाल्नुपर्ने कदमबारे कांग्रेसले आफ्नो धारणा बनाउने तयारी गरेको छ ।
त्यस्तै, १५औं महाधिवेशनबाट सभापति गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएपछि पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँट हुन सकेको छैन । बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे पनि छलफल हुनेछ ।
यसका अतिरिक्त पूर्वसभापति देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने तयारी अघि बढाएपछि उत्पन्न पार्टीको आन्तरिक परिस्थितिबारे समेत बैठकमा छलफल हुने बताइएको छ । देउवा पक्षले आइतबार जिल्ला अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म समानान्तर केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।