काठमाडौ- लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ। जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले केही घण्टामै जलाशयको सतह एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
उनले नदीकिनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा बस्न तथा आयोजनाबाट जारी हुने सूचना र मोबाइलमा प्राप्त हुने एसएमएसमा उल्लेखित निर्देशन पालना गर्न अनुरोध गरेका छन्।
जलाशयमा पानीको सतह सन्तुलित राख्न बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै जलविद्युत् केन्द्रले चेतावनी जारी गरेको छ। ढोका खोल्नुअघि चेतावनीको साइरन बजाइने केन्द्रका प्रमुख राउतले राससलाई जानकारी दिए।
उनले देउराली–सिस्नेरी सडकखण्डमा आवतजावत गर्दा पनि सावधानी अपनाउन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।