काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारमाथि धरपकड गरिएको घटनाको छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई भनेको हो ।
बैठकपछि प्रवक्ता जगदीश खरेलले घटनाको कारण र त्यसमा संलग्न व्यक्तिबारे निष्पक्ष छानबिन गर्न निर्देशन दिइएको जानकारी दिए ।
उनका अनुसार घटनाको छानबिन र कारबाहीमा कुनै ढिलासुस्ती हुन नहुनेमा पार्टी स्पष्ट छ ।
रास्वपाले प्रेस स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने वा सञ्चारकर्मीमाथि धरपकड गर्ने कार्य स्वीकार्य नहुने जनाएको छ ।
आगामी दिनमा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने र समाचार लेखेकै कारण पत्रकार पक्राउ पर्ने घटना दोहोरिन नदिन पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने रास्वपाको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।