काठमाडौ - प्रधानमन्त्री बालेन शाहले नेपाली गेमिङ तथा सूचना प्रविधि (आईटी) उद्योगलाई सहज बनाउन नीतिगत सुधार गर्ने बताएका छन्।
नेपालमै बनेका गेमले विश्व बजारमा लोकप्रियता हासिल गरिरहेको उल्लेख गर्दै उनले गेम विकासमा संलग्न युवाका समस्या समाधान गर्न र यस क्षेत्रलाई उद्योगका रूपमा अघि बढाउन सरकार सक्रिय भएको बताएका हुन्।
विश्वभर लोकप्रिय लुडो र कलब्रेक गेम नेपालीले नै निर्माण गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले गेम विकासमा संलग्न युवासँग छलफल गरी उनीहरूका समस्या बुझेको र समाधानका लागि गृहकार्य अघि बढाइएको जानकारी दिएका छन्।
नेपालबाटै विश्वस्तरका ‘युनिकर्न’ कम्पनी स्थापना गर्न सहज हुने गरी विद्यमान नियम, नीतिगत व्यवस्था र व्यावसायिक वातावरणको पुनरावलोकन गरिने उनले बताएका छन्।
सूचना प्रविधिका उत्पादन तथा निर्यातको सम्भावना बढ्दै गएको भन्दै प्रधानमन्त्री शाहले नेपाली प्रतिभा र कम्पनीले सहज रूपमा आम्दानी गर्न तथा प्राप्त आम्दानी पुनः लगानी गर्न सक्ने वातावरण बनाइने उल्लेख गरेका छन्। यसका लागि करसम्बन्धी व्यवस्था सहज बनाउने, नीतिगत सुधार गर्ने र अन्तर्राष्ट्रिय आम्दानीसम्बन्धी नियमलाई थप सहज बनाउने उनको भनाइ छ।
त्यस्तै, गेमिङ तथा आईटी उद्योगको विकासका लागि ‘गेम जाम’, स्टार्टअप कार्यक्रम र ह्याकाथन आयोजना गर्न तथा आईटी क्षेत्र, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच नियमित अन्तरक्रिया गराउन लगानी गरिने उनले बताएका छन्।
समग्र आईटी उत्पादन तथा गेमिङ उद्योगलाई लाभ पुग्ने खालको व्यावसायिक वातावरण र इकोसिस्टम निर्माणमा पनि सरकारले जोड दिने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।