काठमाडौं– राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच हुने दोस्रो खेल वर्षाका कारण प्रभावित भएको छ ।
निर्धारित तालिकाअनुसार साँझ ५ बजे सुरु हुनुपर्ने खेल मैदान भिजेका कारण अहिलेसम्म टससमेत हुन सकेको छैन ।
वर्षा रोकिए पनि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको आउटफिल्ड भिजेका कारण खेल सुरु हुन नसकेको हो । अहिले मैदान सुकाउने काम भइरहेको छ । ओभर घटाएर भए पनि खेल सञ्चालन गर्ने तयारीमा नेपाल क्रिकेट संघ (क्यान) रहेको छ ।
एक खेलमा जित र अर्कोमा हार बेहोरेको सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । यता, विराटनगरले यसअघिका दुवै खेलमा पराजय बेहोरेको छ ।
प्रतियोगितामा लगातार दुई खेल जितेको कर्णाली याक्स ४ अंकसहित शीर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स अंकविहीन हुँदै पुछारमा छ ।
यसअघि शनिबारै हुने लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल वर्षाकै कारण रद्द भएको थियो । टससमेत हुन नपाई खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।
अंक बाँडेसँगै लुम्बिनी र चितवनको समान ३ अंक भएको छ । लुम्बिनी दोस्रो र चितवन तेस्रो स्थानमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।