काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित १ जना पक्राउ परेका छन्। अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँच भएर बाहिरिसकेको अवस्थामा प्रहरीले सुनसहित इजिप्टका नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा इजिप्टका नागरिक सरिफ मोहम्मद लासिम रहेका नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए।
‘भन्सार जाँचपास हुने क्षेत्र केटपछि शंका लागेर चेकजाँच गर्दा सुन भेटियो। अहिले थप अनुसन्धान भइरहेको छ,’ डीआईजी चन्दले भने। डीआईजी चन्दका अनुसार उनको साथबाट ६ किलो ५६५ ग्राम सुन बरामद भएको हो।
प्रहरीले इजिप्टका ती नागरिकसँगै सुन तस्करीमा संलग्न भएको आरोपमा अन्य २ जना सुडानी नागरिकलाई पनि पक्राउ गरेको छ। सीसी क्यामेराको फुटेज अध्ययन गर्दा शंकास्पद देखिएपछि सुडानी नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक सोधपुछका क्रममा सुडानी नागरिकहरुले भने आफूहरुको संलग्नता अस्वीकार गरेका छन्। यद्यपि थप अनुसन्धान भइरहेकाले संलग्नता पुष्टि नभए उनीहरुलाई रिहा गरिने प्रहरीको भनाइ छ।
सुनसहित पक्राउ परेका इजिप्टका नागरिक लासिम फ्लाई दुबईको एफजेड–५७३ विमानमार्फत् शनिबार राति ११:५१ बजे काठमाडौं आएका थिए। बिहीबार राति पनि यही विमानमार्फत् काठमाडौं आएका गोरखाका चन्द्र १४ किलो सुनसहित पक्राउ परेका थिए। उनलाई भन्सार कार्यालयले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।