काठमाडौं। नेपाली गेमिङ तथा सूचना प्रविधि (आईटी) उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकारले विद्यमान नीति, नियम र व्यावसायिक वातावरण पुनरावलोकन गर्ने भएको छ।
गेम डेभलपमेन्ट कम्पनीका समस्या समाधान गर्दै नेपालबाटै विश्वस्तरका प्रविधि कम्पनी स्थापना गर्न सहज वातावरण बनाइने भएको हो।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमा बनेका गेमले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक रहेको बताएका हुन्।
उनका अनुसार विश्वभर चर्चित लुडो गेम करिब २० करोड पटक डाउनलोड भएको छ भने कलब्रेक गेम १५ करोडभन्दा बढी पटक डाउनलोड भएको छ। यी दुवै गेम नेपालीले नै निर्माण गरेका हुन्। नेपालमा सयौं युवा गेम एप निर्माणमा सक्रिय रहेको पनि उनले बताएका छन्।
गेमिङ उद्योगमा संलग्न डेभलपर तथा उद्यमीहरूसँग छलफल गरेर उनीहरूका समस्या र चुनौती बुझ्ने काम गरिएको उनले जानकारी दिएका छन्। ‘हामीले उहाँहरूलाई बोलाएर समस्याहरू पनि बुझ्यौं र यो गेम डेभलपमेन्ट क्षेत्रलाई सजिलो बनाउन तथा उद्योगका रूपमा अघि बढाउने विषयमा कुरा गर्यौँ। अब उहाँहरूका समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ,’ उनले भनेका छन्।
नेपालबाटै विश्वस्तरका ठूला प्रविधि कम्पनी निर्माण गर्न सहज हुने गरी नीतिगत तथा कानुनी व्यवस्था पुनरावलोकन गरिने उनले बताएका छन्।
आईटी उत्पादन तथा सेवा निर्यातको सम्भावना बढ्दै गएको उल्लेख गर्दै उनले नेपाली प्रतिभा र कम्पनीले सहज रूपमा आम्दानी गर्न तथा त्यसलाई पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गरिने बताएका छन्।
उनले भनेका छन्, ‘आईटीका उत्पादन र निर्यात अहिले निकै सम्भावनायुक्त अवस्थामा छन्। हाम्रो प्रतिभा र कम्पनीहरूले सहजै कमाउने र पुनः लगानी गर्ने कुरालाई ध्यानमा राख्दै करमा सहजता र नीतिगत सुधार गर्नेछौं। अन्तर्राष्ट्रिय आम्दानीमा लागू हुने परम्परागत कडा नियमलाई पनि अझ सहज बनाउनेछौं।’
गेमिङ तथा समग्र आईटी उद्योगको विकासका लागि सरकारले विभिन्न कार्यक्रम र गतिविधिमा लगानी गर्ने योजना पनि अघि सारेको छ।
यसअन्तर्गत गेम जाम, स्टार्टअप कार्यक्रम, ह्याकाथन तथा आईटी क्षेत्रसँग सम्बन्धित अन्य कार्यक्रम सञ्चालन र प्रवर्द्धन गरिनेछ। त्यस्तै, आईटी क्षेत्र, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच नियमित अन्तरक्रियाको व्यवस्था गरिने उनले बताएका छन्।
‘गेम जाम, स्टार्टअप इभेन्ट, आईटी क्षेत्र र राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबीच नियमित अन्तरक्रिया, ह्याकाथन र समग्र आईटी उत्पादन तथा गेमिङ उद्योगलाई फाइदा हुने इकोसिस्टम निर्माणका कार्यक्रमहरूमा लगानी गर्नेछौं,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।