बारा– बाराको फेटा गाउँपालिकामा भएको घटनापछि स्वास्थ्य चौकीको मुख्य भवनभित्र घेरिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित करिब ३८ जना सरकारी कर्मचारीको सकुशल उद्धार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार झन्डै दुई घण्टासम्म भवनभित्रै थुनिएका उनीहरूलाई शनिबार उद्धार गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार बिहान करिब साढे १० बजेदेखि कर्मचारीहरू भवनभित्रै घेरिएका थिए । घटनास्थलको अवस्था तनावपूर्ण बनेपछि उनीहरू बाहिर निस्कन नसकेको र पछि सुरक्षाकर्मीको पहलमा सकुशल बाहिर निकालिएको उनले बताए ।
फेटा गाउँपालिका–३ मा शनिबार बिहान आधारभूत अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र विपक्षी समूहबीच विवाद भएको थियो ।
विवाद चर्किँदै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ । सो क्रममा स्थानीय युवक आदित्य पासवानलाई गोली लागेको थियो ।
घटनापछि स्वास्थ्य चौकी परिसरमा तनाव बढेको थियो भने इन्स्पेक्टरसहित सरकारी कर्मचारीहरू मुख्य भवनभित्रै घेरिएका थिए । करिब दुई घण्टापछि उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको जिल्ला प्रशासनले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।