पोखरा - डिजिटल प्लेटफर्म टिकटकको माध्यमबाट नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न ७ देशका चर्चित ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन् ।
नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल टिकटकको संयुक्त सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका सामग्री निर्माताहरू नेपाल आएका हुन् ।
उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, मौलिक कला–संस्कृति, साहसिक गतिविधि र यहाँको विशिष्ट पर्यटकीय अनुभवलाई समेटेर श्रव्य दृश्य (भिडियो) सामग्री तयार पार्नेछन् । उक्त भिडियो टिकटक लगायतका सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ पुर्याइनेछ ।
यस अभियानअन्तर्गत टोलीले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय स्थलहरूको स्थलगत भ्रमण गर्नेछ । नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलका अनुसार क्रिएटरहरूले ती गन्तव्यका आकर्षण, स्थानीय जनजीवन, संस्कृति, प्रकृति र पर्यटकीय गतिविधि समेटिएका सामग्री निर्माण गर्नेछन् ।
फ्लाई दुबईको उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका विदेशी कन्टेन्ट क्रिएटरहरूलाई पर्यटन बोर्ड र स्थानीय पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । नेपाल पर्यटन बोर्ड र टिकटकबिच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
सोही सहकार्य अनुसार सुरु गरिएको लाइफ टाइम एक्सपिरियन्स अभियानले नेपालको हिमाल, सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको बोर्डका सदस्य सन्तोष पोखरेलले जानकारी दिए ।
भ्रमण तालिका अनुसार बङ्गलादेशका अनिवार्न कासेर, श्रीलङ्काका कसुन सम्पथ देगोडा मागागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा युएईका मोहम्मद नाबिलले पोखरा र वरपरका पर्यटकीय आकर्षणहरूमा आधारित सामग्री निर्माण गर्नेछन् ।
यस्तै, फ्रान्सका जेरेमी ब्युदेटले चितवन पुगेर त्यहाँको वन्यजन्तु, राष्ट्रिय निकुञ्ज, प्रकृति र थारू संस्कृतिमा आधारित अनुभवलाई क्यामरामा कैद गर्नेछन् । पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्यु लिले भने बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु र समुदायमा आधारित पर्यटन (होमस्टे आदि) का सम्भावनाहरूलाई विश्वसामु पस्कनेछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) ले सरकारले पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमलाई उच्च प्राथमिकता दिएको बताएका छन् । आधुनिक डिजिटल माध्यमबाट विश्वभरका दर्शकसम्म पुग्ने यो अभियानले नेपाली पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय पहुँचलाई थप विस्तार गर्ने अपेक्षा मन्त्री पौडेलले राखेका छन् ।
यस्तो प्रयासले नेपाललाई विश्वस्तरमा एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न टेवा पुर्याउने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।