पोखरा- फेवा ताल घुम्न जानेहरुको फोटो खिचेवापत अवैध असुली गरी ठगी गरेको आरोपमा पोखराबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ। ठगी आरोपमा एक जना वडा सदस्य समेत पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका- ६ लेकसाइड बस्ने वर्ष ४१ का विकास पहारी, २२ वर्षका प्रवीन विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार, अप्पे भन्ने अभिषेक बराल र पोखरा महानगरपालिका- ६ खहरे बस्ने वडा सदस्य वर्ष ४२ को दिपेन्द्र पहारी छन्।
पोखरा महानगरपालिका- ६ लेकसाइडस्थित फुटट्र्याकमा फोटो खिचेवापत मिलन पहारी समेतले विभिन्न किसिमबाट धम्काई प्रतिव्यक्ति १३ हजार ५ सयका दरले लिएर ठगी गरेको भन्ने १५ जनाको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा दिन १० म्याद थप गरी अन्य अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्हरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।