काठमाडौं– तृतराज दासको पहिलो एनपीएल अर्धशतक र अभिषेक तिवारीको आक्रामक ब्याटिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत पोखरा एभेन्जर्सलाई १४८ रनको लक्ष्य दिएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।
जनकपुरका लागि तृतराजले सर्वाधिक ६१ रनको योगदान दिए । ५५ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे । तीनवटै सिजन एनपीएल खेलेका तृतराजले प्रतियोगितामा पहिलो पटक अर्धशतक बनाएका हुन् । उनले ४९ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।
यसअघि पहिलो सिजन पोखरा एभेन्जर्सबाट खेलेका तृतराजले एक खेलमा रन बनाउन सकेका थिएनन् । दोस्रो सिजन पोखराबाटै चार खेल खेलेका उनले कुल ३९ रन बनाएका थिए । यस सिजनका सुरुवाती दुई खेलमा जम्मा ६ रन बनाएका उनले पुरानै टोली पोखराविरुद्ध तेस्रो खेलमा लय समातेका हुन् ।
जनकपुरका लागि अभिषेक तिवारीले अन्तिम ओभरतिर आक्रामक ब्याटिङ गर्दै अविजित २४ रन बनाए । उनले १० बलमा २ चौका र २ छक्का प्रहार गरे । मोहिन अलीले १६ बलमा २१ रन जोडे ।
कप्तान हरमित सिंह ८ बलमा ९, अनिल साह ९ र जिम्मी निसम ११ रन बनाएर आउट भए । सैफ हसनले ९ बलमा १ रन मात्रै बनाउन सके ।
पोखराका लागि साकिब अल हसन सर्वाधिक सफल बलर बने । उनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । जनकपुरका सुरुवाती दुई विकेट लिएका साकिबले कप्तान हरमितलाई आउट गर्दै व्यक्तिगत तेस्रो सफलता हात पारे । कुशल भुर्तेल, मेहेदी हसन र चमिका करुणारत्नेले एक–एक विकेट लिए ।
जनकपुरले यसअघि खेलेका दुईमध्ये एक खेल जितेको थियो । तेस्रो खेलमा पोखरालाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको जनकपुर अब आफ्नो दोस्रो जितको खोजीमा छ । पोखरा भने प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।