काठमाडौं– अभिनेत्री सृष्टि श्रेष्ठ पछिल्लो अभिनय कौशलकै कारण लोकप्रिय छिन्।
सृष्टिले गत बिहीबार एक नयाँ फिल्म घोषणा कार्यक्रममा आफू अभिनेता महेश त्रिपाठीको अभिनयको फ्यान भएको बताएकी छन्।
केशव पाण्डेको कथा र निर्देशनमा निर्माण हुन लागेको सस्पेन्स थ्रिलर फिल्म ‘११: ५५’को घोषणा कार्यक्रममा उनले भनिन्, ‘मैले भर्खरै हल्कारा हेरेको थिएँ। तर यो फिल्म हेर्नु अगाडिदेखि नै म महेश त्रिपाठीको फ्यान हुँ। उहाँसँग काम गर्न पाउँदा एकदमै एक्साइटेड छु।’
फिल्म ‘११:५५’मा सृष्टि र महेशले सँगै स्क्रिन सेयर गर्दैछन्। महेश फिल्म उद्योगमा अब्बल अभिनयका कारण चर्चामा छन्। उनको प्रमुख भूमिका रहेको फिल्म ‘हल्कारा’ यसपालिको ओस्कार अवार्डमा नेपालबाट छनोट भएको थियो। साथै उनले ‘हल्कारा’बाट अमेरिकाको प्रतिष्ठित फेस्टिवल ‘ह्युस्टन फिल्म फेस्टिवल‘मा उत्कृष्ट अभिनेताको अवार्डसमेत जितेका थिए।
महेशले सृष्टिसँग काम गर्न पाउँदा आफूले पनि खुसी महसुस गरेको बताए। ‘राधा फिल्ममा उहाँको काम मलाई निकै मन परेको हो। उहाँ र यो टिमसँग काम गर्न पाउँदा म उत्साहित छु,’ महेशले भने।
यो फिल्मबाट नवअभिनेता सागर खनालले पनि नेपाली फिल्म उद्योगमा डेब्यू गर्दैछन्। निर्माण टिम शनिबारबाट छायाँकनमा जानेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।