काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत जनकपुर बोल्ट्सले दिएको १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले पहिलो १० ओभरमा ३ विकेट गुमाएर ६६ रन बनाएको छ ।
पोखरालाई जितका लागि बाँकी १० ओभरमा ८२ रन आवश्यक छ । उसका लागि जितको लक्ष्य पूरा गर्न ६० बलमा ८२ रन बनाउनुपर्नेछ ।
पोखराका ओपनर कुशल भुर्तेलले ३४ रन बनाएर आउट भएका छन् । उनले टोलीलाई राम्रो सुरुवात दिलाए पनि ठूलो इनिङ्स खेल्न सकेनन् । दिनेश खरेल ९ बलमा ३ रन र मेहेदी हसन ८ रन बनाएर पवेलियन फर्किएका छन् ।
क्रिजमा अर्जुन घर्ती ५ र साकिब अल हसन ८ रन बनाएर खेलिरहेका छन् ।
यसअघि टस जितेर पहिले बलिङ रोजेको पोखराविरुद्ध जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । जनकपुरका तृतराज दासले ५५ बलमा ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । एनपीएलमा उनको यो पहिलो अर्धशतक हो । अभिषेक तिवारीले अन्तिमतिर १० बलमा अविजित २४ रन जोड्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएका थिए ।
पोखराका साकिब अल हसनले जनकपुरका तीन विकेट लिएका थिए । अब पोखरालाई बाँकी १० ओभरमा आवश्यक रन जोड्दै प्रतियोगितामा पहिलो जित निकाल्ने चुनौती छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।