काठमाडौं– चलभित्र कबड्डी द फाइनल्स म्याचकी नायिका मिरुना मगर र फुर्पा तामाङबीच सहमति भएको छ।
चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो। सहमतिपत्रमा फुर्पाले आफ्नो गल्ती स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ।
फिल्म हेरिसकेपछि फर्किने क्रममा ‘ब्याड टच’ गरेको भन्दै मगरले फुर्पालाई चड्कन लगाएकी थिइन्। भीडभाडको फाइदा उठाएर आफूमाथि अभद्र व्यवहार गरेको भन्दै आक्रोशित नायिका मगरले फुर्पालाई चड्कन हान्नुका साथै प्रहरीको जिम्मा लगाएकी थिइन्।
त्यसपछि भने नायिका मगरको निकै आलोचना भयो। सार्वजनिक सीसीटीभी भिडियोमा फुर्पाले कुनै कोणबाट नछोएको देखिएको भन्दै नायिका मगरमाथि नै सबै खनिएका थिए। बौद्ध धर्मावलम्बीका संघ–संस्थाहरू फिल्म निर्माण पक्ष र नायिकामाथि खनिँदै चलभित्र प्रदर्शन नै रोक्न आन्दोलनमा उत्रिएपछि फुर्पालाई तीन हजार धरौटीमा मंगलबार रिहा गरिएको छ।
उनको रिहाइसँगै दुवै पक्ष मिलेर सहमति गरेका छन्। सहमतिपत्रमा दुवै जनाले एक अर्काप्रति गरिएको व्यवहारबारे माफी मागेका छन्। कुनै जाती, धर्म र सम्प्रदायप्रति असर पुग्ने आसयले आफूले कार्य नगरेको भन्दै नायिका मगरले क्षमा मागेकी छिन्। साथै दुवै पक्षबाट आइन्दा यस्तो व्यवहार नहुने प्रतिबद्धतासहित सहमति गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।