काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा विजयी धनराज गुरुङले युवाको काँधमा पार्टीको जिम्मेवारी आएको बताएका छन्।
उनले अग्रज नेता विजयकुमार गच्छदारलाई २ मतले पराजित गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन्।
'निर्वाचन एकदमै प्रतिस्पर्धात्मक भयो। अग्रज नेता विजयकुमारमाथि २ मतले विजयी हुँदा मैले पार्टीको जिम्मेवारी युवाको काँधमा आएको महसुस गरेको छु,' उपसभापतिको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि सानेपामा बुधबार राति सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, 'अब पार्टीमा रुपान्तरणको प्रक्रिया सुरु भएको छ।' उनले आफू विजयी भए पनि अग्रजप्रति सम्मान गर्ने बताए।
उनले पुरानोको अनुभव र नयाँको ऊर्जालाई समायोजन गरेर पार्टीलाई अगाडि बढाउने बताए। अब पार्टीमा भागबण्डाको परम्परा र गुटबन्दी अन्त्य हुनेसमेत उनले दाबी गरे।
गुरुङ डा शेखर कोइरालाको प्यानलबाट उपसभापतिको उम्मेदवार बनेका थिए। शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका पूर्णबहादुर खड्का सबैभन्दा बढी मत ल्याएर उपसभापतिमा विजयी भएका छन्। देउवा प्यानलकै गच्छदार भने गुरुङसँग २ मतले पछाडि परेका हुन्। दुईजना उपसभापति पदका लागि सातजनाबीच प्रतिस्पर्धा भएको थियो।
यसअघि सभापतिको मत परिणाम सार्वजनिक भइसकेको छ। दुई चरणमा सम्पन्न निर्वाचनपश्चात् कोइरालालाई पराजित गर्दै देउवा पुन: सभापतिमा निर्वाचित भएका छन्।
सभापति र उपसभापतिको मत परिणाम सार्वजनिक भएसँगै अब क्रमश: अन्य पदको मतगणना गरिने निर्वाचन समितिले जानकारी दिएको छ।
नवनिर्वाचित उपसभापति गुरुङले अन्य पदाधिकारी र सदस्यहरुमा पनि मिश्रित नतिजा आउने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।