काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्।
बुधबार राति सम्पन्न मतगणना अनुसार उपसभापतिमा सबैभन्दा धेरै मतका साथ खड्का विजयी भएका छन्। यस्तै गुरुङ झिनो मतान्तरले विजयकुमार गच्छदारलाई पछाडि पार्दै उपसभापतिमा विजयी भएका छन्।
उपसभापतिमा विजयी खड्का शेरबहादुर देउवा समूहका हुन् भने गुरुङ शेखर कोइराला समूहका हुन्। गच्छदार देउवा समूहबाट उम्मेदवार बनेका थिए।
दुई जना उपसभापतिका लागि सात जनाबीच प्रतिस्पर्धा भएको थियो। उपसभापतिका अन्य प्रतिस्पर्धीमा चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी शाह थिए।
खड्काले सबैभन्दा धेरै २१२१ मत प्राप्त गरेका छन्। यता गुरुङले मात्र दुई मतान्तरले विजयीकुमार गच्छदारलाई पछाडि पारेका छन्।
गुरुङ १९०८ मत ल्याएर उपसभापति विजयी हुँदा गच्छदारले १९०६ मत पाएका छन्।
यस्तै चन्द्र भन्डारीले १५८०, सुजाता कोइराला ६४४, महेश आचार्य ५८९ र दिव्येश्वरी शाहले १३२ मत पाएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना भएको हो।
कांग्रेसको सभापतिमा शेखर कोइरालालाई पराजित गर्दै शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।