नयाँ दिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय कंग्रेसलाई दिएको चेतावनीका बारेमा भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहले राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेका छन्।
प्रधानमन्त्री मोदीले कर्नाटकको हुब्लीमा दिएको भाषणका क्रममा बोलेको विषयलाई पूर्वप्रधानमन्त्री सिंहले खण्डन गरेका हुन्।
कर्नाटकमा भएको निर्वाचनका क्रममा आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि प्रधानमन्त्री मोदीले शक्ति र अधिकारको दुरुपयोग गरेको सिंहको आरोप छ।
गत मे महिनाको ६ तारिखमा हुब्लीमा भएको र्यालीपछि आयोजित कार्यक्रममा मोदीले ‘कंग्रेसका नेताहरुले कान खोलेर सुन्नुस्, म मोदी हुँ, तपाईंहरूले सिमा नाघेर अघि बढेमा त्यसको परिणाम भोग्नु पर्नेछ’ भनेका थिए।
मोदीको भनाइलाई पूर्वप्रधानमन्त्री डा सिंहले ‘शान्ति भाड्ने दुरासयले आएको धम्की र त्रासपूर्ण अभिव्यक्ति’ भनेका छन्। ‘न हाम्रो पार्टी न हाम्रा कुनै नेता, कसैले पनि यस्तो तल्लोस्तरका धम्की दिने कुरालाई सहन सक्दैनन्,’ सिंहले पत्रमा लेखेका छन्।
उनले पत्रमा भनेका छन्,‘कसैका विरुद्धमा चेतावनी दिने, धम्की दिने र त्रसित पार्ने अभिव्यक्ति दिँदा प्रधानमन्त्री मोदीले सावधानी अपनाउनु होला।’
राष्ट्रपतिलाई बुझाइएको पत्रमा पूर्वप्रधानमन्त्री सिंह बाहेक कंग्रेसको दुवै संसदीय दलका नेता र वरिष्ठ नेताहरू पि चितम्बरम्, अशोक गेलोट, अम्बीका सोनी, मुकुल वास्निक, मोतीलाल भोरा, कमलनाथ र अहमद पटेलले हस्ताक्षर गरेका छन्। रासस/एएनआर्इ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।