काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच विषयमा सचेत गराउँदै नागरिक अधिकार र कानुनी शासनमाथि हस्तक्षेप भए सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले प्रेस स्वतन्त्रता, कानुनी शासन, निष्पक्ष अनुसन्धान, न्यायपालिकाको स्वतन्त्रता र आर्थिक सुधारलाई सरकारको प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।
उनले रास्वपाले पाँच वर्ष सरकार सञ्चालन गर्ने जनादेश पाए पनि त्यसको अर्थ स्वेच्छाचारी शासन गर्ने छुट नभएको बताए । कांग्रेसले पनि पाँच वर्ष प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश पाएकाले सरकारका गलत कामको साक्षी बनेर नबस्ने उनको भनाइ थियो ।
थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाको छानबिन गरी परिणाम सार्वजनिक गर्न माग गरे । भ्रष्टाचार नियन्त्रणका नाममा राज्यशक्तिको दुरुपयोग गर्न नहुने भन्दै सुनकोसी–मरिण आयोजनासम्बन्धी घटनामा पनि कानुनी प्रक्रियाको पालना हुनुपर्ने बताए ।
उनले सार्वजनिक भएका भ्रष्टाचार तथा बिचौलियासम्बन्धी प्रकरणको निष्पक्ष अनुसन्धान र छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा जोड दिए । न्यायालयको स्वतन्त्रतामाथि कुनै हस्तक्षेप हुन नहुने र आर्थिक सुधारका लागि भय होइन, विश्वासको वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
सरकारले संसद्मा विधेयक ल्याएर सुधारका काम अघि बढाए कांग्रेसले सहयोग गर्ने तर अध्यादेश र स्वेच्छाचारी कार्यशैली स्वीकार नगर्ने थापाले स्पष्ट पारे ।
सरकारलाई गगनका पाँच सुझाव तथा खबरदारी :
१. प्रेस स्वतन्त्रता: सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाको छानबिन र दोषीमाथि कारबाही।
२. कानुनी शासन: प्रधानमन्त्रीदेखि प्रहरीसम्म सबैलाई कानुनको सीमाभित्र राख्ने र राज्यशक्तिको दुरुपयोग रोक्ने।
३. निष्पक्ष अनुसन्धान: भ्रष्टाचार तथा बिचौलियासम्बन्धी सबै प्रकरणको प्रमाणका आधारमा अनुसन्धान गर्ने र छानबिन प्रतिवेदन सार्वजनिक गर्ने।
४. न्यायपालिकाको स्वतन्त्रता: अदालतलाई राजनीतिक तथा आर्थिक प्रभावबाट मुक्त राख्ने र न्यायाधीशले निर्भीक भएर काम गर्ने वातावरण बनाउने।
५. आर्थिक सुधार: निजी क्षेत्रको विश्वास बढाउने, लगानी विस्तार गर्ने र अध्यादेशको सट्टा संसद्बाट कानुन निर्माण गरी सुधार अघि बढाउने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।