बेइजिङ- उत्तर कोरियाका उच्चस्तरीय अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार चीन पुगेको छ। तर भ्रमणमा सहभागी अधिकारीको नाम भने खुलाइएको छैन। उक्त भ्रमण दलमा उत्तर कोरियाका केही उच्चस्तरीय अधिकारी भएको अनुमान गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच लामो समयदेखि प्रतीक्षा गरिएको एक महत्वपूर्ण शिखर बैठक आगामी जुन १२ मा सिंगापुरमा हुन लागेको छ। सोही भ्रमणको पूर्व सन्ध्यायमा भएको उत्तर कोरियाली नेताको यो चीन भ्रमणलाई अर्थपूर्ण भ्रमणका रुपमा लिइएको छ। यसका साथै उत्तर कोरियाली नेता उन पनि केही दिनअघि मात्र चीन पुगेका थिए। उनले गएको दुई महिनायता दोस्रो पटक चीन भ्रमण गरेका हुन्।
उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारेको अन्योल हटाउने विषयमा सिंगापुरमा जुन १२ मा वार्ता हुन लागेको हो। राष्ट्रपति ट्रम्पले विश्वकै चासो र प्रतीक्षाको उक्त विषयको अन्त्य भएको भन्दै सिंगापुरमा वार्ता हुने र यो वार्ता कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि महत्वपूर्ण कदम हुने ट्वीटरमार्फत जनाएका छन्।
यसअघि नै यसै वार्तालाई लिएर राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबे, चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग पनि फोनवार्ता गरेका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनबीच गर्ने उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको अमेरिकाले जनाएको छ। यसका लागि उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई गत बुधबार नै रिहा गरिसकेको छ।
सिंगापुर वार्ताको तयारीको लागि अमेरिकी विदेशमन्त्रीले पनि हालै उत्तर कोरियाको भ्रमण गरेका थिए। सो भ्रमणपछि नै उत्तर कोरियाले आफ्नो थुनामा रहेका अमेरिकी नागरिकलाई रिहा गरेको थियो।
उत्तर कोरियाको भ्रमणलगत्तै अमेरिकी विदेशमन्त्रीले आसन्न वार्ताको वातावरण निर्माण भएको र परिस्थिति सबै सकारात्मक रुपमा नै अघि बढेको प्रतिक्रिया दिएका थिए।
सो वार्ताको सफलताको लागि अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही दिनयता विभिन्न एसियाली देशका नेताहरुसँग फोनवार्ता जारी राखेका छन्। उनले उत्तर कोरियासँग वार्तामा बस्न आफू प्रतिक्षारत रहेको पनि बताएका छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।