सिओल- उत्तर कोरियाले आणविक हतियार परीक्षण स्थल नष्ट गर्ने प्रक्रिया अघि बढाएको छ।
परीक्षण स्थल नष्ट गर्न उत्तर कोरियाले ‘प्राविधिक उपाय अघि बढाउन लागेको’ शनिबार कोरियाली केन्द्रीय समाचार संस्था केसिएनए न्यूज एजेन्सीले जनाएको हो।
विदेश मन्त्रालयको प्रेस विज्ञप्तिलाई उद्धृत गर्दै केसिएनएले भनेको छ, 'मौसम अनुकूल रहेमा हतियार परीक्षण स्थललाई यही मे २३ र २५ गते नष्ट गर्ने कार्यक्रम तय भएको छ।'
सिंगापुरमा आगामी जून १२ मा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्तालाई मार्गप्रशस्त गर्न उत्तर कोरियाले उक्त कदम चालेको हो।
आगामी केही दिनमा उत्तर कोरियाली आणविक हतियार परीक्षण स्थल नष्ट गर्ने प्रक्रियाको साक्षी बन्न अन्तर्गत विदेशी सञ्चार माध्यमलाई बोलाइने जनाइएको छ।
चीन, रूस, संयुक्त राज्य अमेरिका, बेलायत र दक्षिण कोरियाका सञ्चारकर्मीलाई परीक्षण स्थल नष्ट गरेका समाचार रिपोर्टिङका लागि अनुमति दिइने विदेश मन्त्रालयले जनाएको छ। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।