क्वालालम्पुर– मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। मलेसियाको आप्रवासन विभागले केही दिनअघिमात्र सत्ताबाट बाहिरिएका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो।
हालै सम्पन्न निर्वाचनमा रजाकको पार्टी पराजित भएको थियो भने उनले सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ। विभागले रजाकसँगै उनकी श्रीमती रोस्मा मनसुरलाई पनि देशबाट बाहिरिन प्रतिबन्ध लगाएको जनाएको छ।
विभागले आफूहरुलाई देशबाट बाहिरिन प्रतिबन्ध लगाएको सार्वजनिक भएपछि ट्वीट गर्दै नाजिबले लेखेका छन्, ‘म र मेरो परिवारलाई मलेसियाका आप्रवासन विभागले देश छाड्न प्रतिबन्ध लगाएको बारेमा मलाई पहिले नै थाहा थियो।’ उनले थप लेखेका छन्, ‘मैले त्यो निर्देशनलाई सम्मान गर्नेछु र म मेरो परिवारसँगै स्वदेशमै बस्ने छु।’
यसै हप्ता भएको ऐतिहासिक निर्वाचनमा नजिबले नेतृत्व गरेको बारिसान राष्ट्रिय गठबन्धन पराजित भएको थियो। सो गठबन्धन सन् १९५७ मा मलेसिया स्वतन्त्र भएदेखि सत्तामा रहेकोमा अव सत्ता बाहिर रहने भएको हो।
यस निर्वाचनमा पकातन हरपन गठबन्धनले बहुमत ल्याएर गठबन्धनका नेता तथा पूर्व प्रधानमन्त्री माहाथिर मोहमदको नेतृत्वमा नयाँ सरकार पनि गठन भइसकेको छ। बिहीबार प्रधानमन्त्रीको सपथ खाएका मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थपेका छन्। आफूले ठूलो संख्याको मन्त्रीमण्डल नचाहेको तर केही मन्त्रीहरुको भने तत्काल आवश्यकता भएकोले मन्त्रीमण्डल विस्तार गरिएको प्रधानमन्त्री माहाथिरले बताए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।