पर्थ– पश्चिम अष्ट्रेलियाको बाइन क्षेत्रमा अवस्थित मर्जरेट नदी किनारको बस्तीमा शुक्रबार बिहान जथाभावी गोली प्रहार गरी ७ व्यक्तिको हत्या गरिएको छ।
१ जना व्यक्तिले गोली हानी ती ७ जनाको हत्या गरेको समाचारमा जनाइएको छ। मारिने ७ जना एकै परिवारका हुन् या होइनन् भन्ने बारेमा भने केही खुलेको छैन।
सो गोली प्रहारमा ४ बालबालिकासहित ७ व्यक्तिको मृत्यु भएको छ। पर्थको दक्षिणतर्फ पर्ने इलाकामा भएको उक्त घटनाको खबर प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको छ।
५ व्यक्तिको शव एकै घरभित्र पाइएको थियो। त्यसैगरी २ जनाको शव उक्त घरभन्दा केही पर पाइएको थियो। यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ।
यस घटनामा ४ बालबालिकासहित ७ व्यक्तिको मृ्त्यु भएको पर्थका प्रहरी प्रमुखले पुष्टि गरेका छन्। गोली प्रहारमा मारिएका बालबालिकाको उमेर खुलाइएको छैन।
सन् १९९६ मा अष्ट्रेलियाको पोर्ट आर्थुरमा भएको आमहत्यामा परी ३५ व्यक्तिको मृत्यु भएको थियो। आज भएको सामूहिक हत्यालाई यसपछि भएको ठूलो हत्याको रुपमा लिइएको छ।
उक्त हत्याकाण्डको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। यसको उद्देश्य पनि खुलेको छैन। प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।