वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग फोन वार्ता गरेका छन्।
उत्तर कोरियाली नेता किमसँग हालै भएको शान्ति सम्झौताका साथै आगामी दिनमा अमेरिका र उत्तर कोरिया भेटावार्ताका बारेमा फोनमा कुराकानी भएको बताइएको छ।
राष्ट्रपति ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर सन्देशमा भनिएको छ,‘दक्षिण कोरियाली नेता मुनसँग मेरो लामो कुराकानी भएको छ। सबैकुरा राम्रोसँग अघि बढेका छन्।’
उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्ने काम भइरहेको ट्रम्पले बताए। आसन्न वार्ताको विषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि राष्ट्रपति ट्रम्पले केही समयअघि कुराकानी गरेका थिए।
मुनले दुई कोरियाबीच गत अप्रिल २७ मा भएको ऐतिहासिक शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमसँग भएको कुराकानी र स्थायी तथा कोरियाली प्रायदीपलाई आणविक हतियारबाट पूर्णरुपमा निशस्त्रीकरण गर्नेसम्बन्धी विषयमा भएको सहमतिको बारे जानकारी दिएका बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पनि आगामी केही हप्तामा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको छ। यस शिखर वार्ताको तयारी दुवै देशले गरेका बताएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।