वासिंगटन– उत्तर कोरियाद्वारा रिहा गरिएका तीन अमेरिकीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गरेका छन्।
बिहीबार वासिङ्टन डिसीस्थित एन्ड्र्यु हवाई अड्डामा उत्रिएका उनीहरुलाई राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलनियाले स्वागत गरेका थिए। स्थानीय समयानुसार २ः४५ मा राष्ट्रपति ट्रम्प उनीहरुलाई स्वागत गर्न विमानभित्रै छिरेका थिए। विमानभित्र प्रवेश गरेको केहिबेरपछि उनीहरु सँगै विमान बाहिर निस्किएका थिए।
गतहप्ता मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली जेलमा रहेका अमेरिकी नागरिकलाई तत्कालै रिहा गर्न आग्रह गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच केही साताभित्रै हुने भनिएको बैठकअघि उनीहरुलाई सद्भावनाको संकेतको रुपमा बुधबार रिहाइ गरिएको ह्याइट हाउसले जनाएको छ।
यसै उच्चस्तरीय भेटवार्ताको तयारीको लागि नै अमेरिकी विदेशमन्त्री पोम्पेओ बुधबार प्योङयाङ पुगेका थिए। पोम्पेओले उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनसँग भेटवार्ता गरेपछि तीन अमेरिकी बन्धकलाई मुक्त गर्न उत्तर कोरिया राजी भएको हो। यस भ्रमणपछि दुई नेताहरुबीचको भेटवार्ताको मिति र स्थानको बारेमा सार्वजनिक हुनसक्ने पनि बताइएको छ।
उनले दुई देशका उच्च नेताबीच हुन लागेको आसन्न वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ। उनी अघोषित रूपमा नै बुधबार उत्तर कोरिया पुगेका थिए।
विगत लामो समयदेखि उत्तर कोरिया र अमेरिकाले दुवै तर्फका नागरिकलाई आ–आफ्नो देशको भ्रमणमा रोक लगाउने गरेको भएपनि बर्सेनी ठूलो संख्यामा अमेरिकी नागरिकले उत्तर कोरिया भ्रमण गर्ने गरेका थिए।
उत्तर कोरियाली सरकारले जासुसको आरोप लगाएर ती अमेरिकी नागरिकलाई जेलमा राखेको थियो। पछिल्लो समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा केही सुधार आउन थालेपछि भने ती अमेरिकी छुट्ने अपेक्षा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।