दालिअन– चीनका राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच चीनको उत्तरपूर्वी राज्य लिआओनिङमा सोमबार र मङ्गलबार भेटवार्ता भएको छ।
कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिएको तनाव र उत्तर कोरियाको आणविक हतियार परीक्षणपछि अमेरिकालगायत अन्तर्राष्ट्रियस्तरमा देखिएको तनाव अन्त्य गर्ने प्रयासस्वरूप उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन लागेको शिखर सम्मेलनको पूर्वसन्ध्यामा भएको दुई कम्युनिष्ट नेताबीचको भेटलाई विशेष महत्वका साथ लिइएको छ।
चीनले वासिङ्टनलाई वार्तामा ल्याउन मध्यस्थता गरिरहेको भन्ने खबरहरू सञ्चारमाध्यममा आइरहेका समय भएको भेटमा किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ताका लागि छलफल गरेको बताइएको छ।
यसैबीच चिनियाँ भूमिमा भएको कार्यक्रममा कोरियाली नेता किमले भने,‘चिनियाँ राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी र मेरोबीचमा चीन र उत्तर कोरियाबीच ऐतिहासिक बैठक गरी दुई एसियाली मुलुकको विकास र सम्बन्ध सुधारका लागि अभूतपूर्व ढङ्गबाट अघि बढ्ने असल संस्कृतिको विकास भएको छ।’
‘करिब एक महिनाको समयमा राष्ट्रपति सीसँग भएको मेरो यो दोस्रो भेटले हामीबीचको आपसी विश्वास र प्योङयाङ र बेइजिङबीच बृहद विकासका लागि मित्रवत एवम् समन्वयकारी भूमिकाको लागि नयाँ अध्याय सुरु भएको छ’, उनले भने,‘यसले नयाँ युगको मागलाई सम्बोधन गर्नेछ।
यसैबीच कोरियाली प्रायद्वीपमा रहेको तनावबारे बोल्दै चिनियाँ राष्ट्रपति सीले भने,‘आफू र किमबीच भएको पहिलो भेटमा विचारहरूको आदान–प्रदान भएको र पछिल्लो भेटमा किमले कोरियाली प्रायद्वीपमा रहेको तनावलाई सहज पार्न सक्रिय वार्ता प्रयास गरेको पाएँ।’, उनले तनावलाई सहजरूपमा अन्त्यका लागि रचनात्मक भूमिका खेलेको भन्दै किमको प्रसंशासमेत गरे।
राष्ट्रपति सिले कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरणका लागि गरेको उत्तर कोरियाली प्रतिवद्धतामा सहयोगी भूमिका खेल्ने र वासिङटन र उत्तर कोरियाबीचको वार्तामा मध्यस्थता एवम् परामर्श दिने प्रष्ट पारे।
उक्त अवसरका कोरियाली कम्युनिष्ट पार्टीका पछिल्ला गतिविधिबारे नेता किमले चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुखसमेत रहेका सीलाई जानकारी गराएका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।