काबुल– अफगानिस्तानको उत्तरपूर्वी राज्य कुन्दुजमा गत अप्रिलमा भएको एक हवाई हमलामा ३० बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। आक्रमणका क्रममा अन्य ५१ जना घाइते भएका छन्।
अफगान सरकारले गत अप्रिल २ मा समूहमा बसेका उच्च तालिवानी नेताविरुद्ध कारबाही भएको बताएको थियो। अनुसान्धानका अनुसार धार्मिक स्कुलको नजिकै एक खुल्ला समारोह चलिरहेको समयमा भएको कारबाहीका दौरानमा ६ जना वयस्कको पनि मृत्यु भएको राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ। विस्तृत रिपोर्ट आउँदासम्म तथ्यांकमा वृद्धि हुनसक्ने पनि जनाइएको छ।
दस्त–ए–आर्चीे जिल्लामा करिब १ सयभन्दा बढी मानिसहरु सरिक भइरहेको सो कार्यक्रममा रकेट लन्चर तथा हेलिकप्टरबाट मेसिनगनको प्रयोग गरि गोली प्रहार गरिएको थियो।
सुरुवाती अवस्थामा अफगान सरकारले हमलाको लागि योजना बनाइरहेका १८ तालीवानी लडाकुहरु मारिएको दावी गरेको थियो। उता घटनाको खण्डन गर्दै तालीवान पक्षले भने हवाई आक्रमण हुँदा सो कार्यक्रममा आफ्नो पक्षका कोहि पनि लडाकु सहभागी नरहेको तथा २ सय भन्दा बढी नागरिकहरुको मृत्यु तथा गम्भीर घाइते भएको जनाएको थियो।
उता एक चिकित्सकले भने मृतक तथा घाइतेहरुलाई गोली नलागेको तर अधिकांशलाई बमको छर्रा लागेको बताएका समाचार संस्था एएफपीले लेखेको छ।
रिपोर्टमा ठूलो संख्यामा बालबालिका तथा निर्दोष नागरिकको मृत्यु भएकोले सरकारी पक्षलाई सावधानी अपनाउन तथा अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी कानुनको पालना गर्न भनिएको छ। अनुसन्धानकर्ताहरुले भने निर्दोष नागरिकहरु सरकारी तथा विद्रोही पक्षको चेपुवामा परेको जनाएका छन्।
रिपोर्टमा सरकारी सेना सम्मिलित गठबन्धनको हवाई आक्रमणमा सन् २०१७ मा मात्रै ६ सय ३१ जना नागरिक मारिएको उल्लेख छ। राष्ट्रसंघले सन् २००९ मा युद्धपीडितहरुको लगत संकलन गर्न सुरु गरेयता अफगानिस्तानमा हवाई हमलाबाट एकै वर्षमा यती ठूलो संख्यामा निर्दोष नागरिक मारिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।