कास्मिर– आन्दोलनकारीले हानेको ढुंगा लागेर भारत प्रशासित क्षेत्र कास्मिरमा एक भारतीय पर्यटकको मृत्यु भएको छ।
‘स्किङ’का लागि चर्चित गन्तव्य मानिएको क्षेत्र गुलमार्ग जाँदै गरेको समयमा भारतको दक्षिणी शहर चेन्नईका एक पर्यटकको गाडी अन्दोलनकारीको आक्रमणमा परेको बिबिसी उर्दूले लेखेको छ।
सो घटनामा एक स्थानीय युवासमेत घाइते भएका छन्। कास्मिर प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेकोले हालसम्म कसैलाई पनि पक्राउ नगरिएको जनाएको छ। उता आन्दोलनकारीको विरोध केका लागि थियो भन्ने हालसम्म नखुलेको बिबिसीले लेखेको छ।
कास्मिरमा आन्दोलनका क्रममा आन्दोलनकारीहरुले प्रायः पर्यटकहरुलाई लक्षित नगर्ने गरेको पाइन्छ। भारतीय कानुनको विरुद्धमा सन् १९८९ देखि मुस्लिम समुदायको बाहुल्यता रहेको कास्मिरमा सशस्त्र फौज र आन्दोलनकारीबीच सशस्त्र संघर्ष हुँदै आएको छ।
मृतकका परिवारलाई भेटेपछि कास्मिरकी मुख्यमन्त्री मेहबुबा मुफ्तीले ‘दिल तोड्ने’ घटना भएको भन्दै निर्दोष व्यक्तिको ज्यान गएकोमा आफुलाई लज्जावोध भइरहेको टिप्पणी गरेकी छिन्। सो घटनालाई लिएर केहि पर्यटन क्षेत्रसम्बन्धित व्यक्ति तथा संस्थाले समेत दुःख व्यक्त गरेका छन्। उनीहरुले पर्यटकहरुको सुरक्षाको लागिसमेत सरकारसँग माग राखेका छन्।
यो घटना ५० विद्यार्थी बोकेको स्कुल बसमा ढुंगामुढा हुँदा २ जना विद्यार्थी घाइते भएको करिब एक सातापछि घटेको हो। गत अप्रिलमा आन्दोलनका दौरानमा २० जनाको मृत्यु तथा २ सयभन्दा बढी घाइते भएपछि सरकारले कास्मिरका केहि स्थनामा कफ्र्यू आदेश जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।