बेइजिङ– चिनियाँ कम्युनिष्ट पार्टीका पूर्व उच्च अधिकारीलाई घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ। पार्टीका पूर्व पोलिटब्युरो सदस्य सुन जेङसाइले २६ दशमलब ७ मिलियन अमेरिकी डलर घुस लिएको प्रमाणीत भएपछि सो फैसला सुनाइएको हो।
जेङसाइ राष्ट्रपति सि जिनपिङको भ्रष्टाचारविरुद्धको अभियानअन्तर्गत कारबाहीमा पर्ने पछिल्ला उच्च अधिकारी हुन्। ५४ वर्षीय जेङसाइ चोङक्विङ नगरका पार्टी प्रमुख समेत थिए। उनीमाथि गत अप्रिलमा घुस लिएको आरोप लागेको थियो।
चीनको राज्य नियन्त्रित समाचार संस्था सिन्ह्वाका अनुसार जेङसाइले अवैधानिक तवरबाट कमाएको सबै सम्पती जफत गरिनेछ।
चीनमा मौलाउँदै गइरहेको भ्रस्टाचारविरुद्ध राष्ट्रपति सि जिनपिङले देशव्यापी रुपमा नै अभियान चलाएका छन्। उनी शक्तिमा आएपछि हालसम्म १० लाखभन्दा बढी पार्टीका नेता तथा कार्यकर्ताहरु कारबाहीमा परिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।