साना– यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी सोमबार आक्रमण भएको छ।
यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका २ हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० भन्दा बढी घाइते भएका छन्।
स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार विद्रोहीहरूले चलाएको अल मसिराह टेलिभिजनले साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आक्रमण गरेको समाचार प्रसारण गरेको छ।
स्थानीयबासिन्दाले राष्ट्रपति भवनलाई लक्षित गरी २ ठुला शक्तिशाली विस्फोटन भएको सुनेको बताएका छन्। केन्द्रीय बैंकबाट नजिकै रहेको एउटा बैंक र पसलको छेउमा विस्फोटन भएको थियो।
‘हामीले राष्ट्रपति कार्यालयको अर्को प्रवेशद्वारतर्फ काम गरिरहेका थियौं। पहिला सानो आवाज सुन्यौं, त्यसपछि विस्फोटनको आवाज आयो,’ कार्यालयका एक कर्मचारी अहमद डेहसिरले भने। उनले बिस्फोटनपछि भत्किएको ठाँउमा धेरै जना पुरिएको बताए।
यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाका बीचमा सन् २०१५ देखि युद्ध चलिरहेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।