अखिल नेपाल फुटबल संघको चुनाव अगाडि हामीले जुन कुरा उठाएका थियौं, त्यसको पक्षमा प्रतिनिधि साथीहरुले मतदान गर्नुभयो। नेपाली फुटबल आज जुन अवस्थामा छ, त्यसलाई सुधार गर्न हामीले धेरै काम गर्नुपर्नेछ। निर्वाचनमा पराजित हुने साथीहरुसहित सबैलाई साथै लिएर अघि बढ्नुपर्ने आवश्यकता छ।
भर्खर निर्वाचित भएर आएको सन्दर्भमा धेरै कुरा भन्नुभन्दा पनि खेलाडीहरुको शिर झुक्ने काम गर्दिनँ। यो देशको फुटबलको विकासका लागि दिनरात खट्ने प्रतिबद्धता व्यक्त गर्दछु।
निर्वाचित भएको सिंगो टिम सक्षम छ। नेपालका अन्तर्राष्ट्रिय खेलाडीदेखि लिएर देशका फुटबल क्लबका साथीहरु टिममा हुनुहुन्छ। अब मैले काम गरेर देखाउनुपर्ने बेला आएको छ। हामी विगत केही वर्षदेखि हुन नसकेको लिग तुरुन्त सञ्चालन गर्नेछौं। सोमबार नै कार्यसमितिको बैठक बसेर लिगको घोषणा गर्नेछौं।
हामी सुरुवातमा पहिलो तीन महिनाभित्र सुशासनका लागि नियम-कानुन बनाउनेछौं। यसबीचमा हामी लिग सञ्चालन गर्छौं। हामी ग्रासरुट स्तरको फुटबल कार्यक्रम यही वर्ष सञ्चालनमा ल्याउँछौं। जिल्ला फुटबल संघ भएका ४५ वटै जिल्लामा ग्रासरुट कार्यक्रम सञ्चालन गर्ने हामी प्रतिबद्धता हो। यसअघि हामीले जाहेर गरेका सबै प्रतिबद्धता पूरा गर्ने हाम्रो लक्ष्य हुनेछ। यी सबै कुरा सोमबारको बैठकबाट निर्णय गराउने विश्वास दिलाउन चाहन्छु।
केन्द्रीय समितिमा निर्वाचित भएका साथीहरुलाई तीन महिना आफ्नो घरको काम छाडेर एन्फाको काम गर्न भनेको छु। किनभने हामीले तीन महिनाभित्र एन्फालाई नीतिगत रुपमा प्रस्ट पार्ने काम गर्नेछौं।
हामी अघि बढ्नका लागि धेरै कानुनको खाँचो छ। आर्थिक नियमावली, कर्मचारी प्रशासन नियमावली बनाउछौं। हामी खेलाडी दर्ताको निमय पनि बनाउछौं। लिग सञ्चालन गर्दै खेलाडीलाई बाँच्ने आधार बनाउने कार्यक्रमहरु ल्याउँछौं।
खेलाडीहरु उपचार गर्न नसकेर भौंतारिरहेका छन्। खेलबाट पलायन भइरहेका छन्। यो स्थितिबाट खेलाडीलाई मुक्त गर्न सुरुवातमा राष्ट्रिय खेलाडीको बिमा गर्ने व्यवस्था मिलाउँछौं। प्रशिक्षकहरुलाई पनि प्रशिक्षण गरेर बाँच्न सक्ने वातावरण बनाउँछौं।
हामी अब पछाडि फर्केर हेर्दैनौं। हामीसँग पछाडि फर्कने समय पनि छैन, अगाडि दौडनुपर्ने अवस्था छ।
(शेर्पा अखिल नेपाल फुटबल संघका नवनिर्वाचित अध्यक्ष हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।