झारखन्ड– भारतको झारखन्डमा आफ्नी छोरीमाथि बलात्कार भएको गुनासो सुनाउन गाउँका बुद्धिजिवीकोमा गएपछि किशोरीलाई जिउँदै जलाउने प्रयास भएको छ।
झारखन्ड प्रहरीका अनुसार १६ वर्षीय किशोरीलाई बलात्कार तथा जिउँदै जलाउने कार्यमा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरिएको छ।
बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई स्थानीय बुज्रुगले १ सय पटक उठबस तथा ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका थिए। सो फैसलापछि अभियुक्तहरुले ती किशोरीलाई जिउँदै जलाउने प्रयास गर्नुका साथै उनका अभिभावकलाई निर्घात कुटपिट गरेका थिए।
‘बलात्कारमा संलग्न २ आरोपीले पहिले किशोरीका बुवाआमामाथि कुटपिट गरेको र घरमा गएर पीडित किशोरीलाई जिउँदै जलाउन खोजेको बुझिएको छ।’, स्थानीय प्रहरी चौकीका अधिकारी अशोक रामले बताए।
यसअघि बुवाआमा विवाहको कार्यक्रममा गएको समयमा २ जना व्यक्तिले किशोरीलाई उनको आफ्नै घरबाट अपहरण गरि राजा केन्दुवा गाउँनजिकै रहेको जंगलमा लगेर बलात्कार गरेको बुझिएको रामले जानकारी दिए। घटनापछि संन्दिग्ध व्यक्तिमाथि किटानी जाहेरी दिन किशोरीका अभिभावक गाउँका बुज्रुगकोमा पुगेका थिए।
भारतका धेरै गाउँहरुमा अझै पनि बुजु्रगहरुको समुहले स्थानीय घटनाहरुको सम्बन्धमा निर्णय सुनाउने परिपाटी कायम छ। लामो समयसम्म कोट कचहरीमा फस्नुपर्ने तथा खर्चिलो हुने भन्दै स्थानीयहरु गाउँकै बुज्रुगहरुको फैसलामा विश्वास गर्ने गरेको पाइन्छ।
हालसम्म घटनामा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरिएको र ४ जना आरोपी फरार रहेको प्रहरीले जानकारी दिएको छ। जसमध्ये बलात्कार गर्ने २ जनालाई पनि प्रहरी नियन्त्रणमा लिइसकेको छ। अन्यायपूर्ण फैसला सुनाएको तथा प्रमाण मेटाएको आरोपमा गाउँका केहि बुजु्रगहरुलाई समेत पक्राउ गरी मुद्दा चलाइएको छ।
पछिल्लो समय भारतमा बलात्कारका घटनाहरुमा वृद्धि हुँदै गइरहेको र प्रहरीमा मुद्दा दर्ता गर्ने परिपाटी पनि बढेको बताइएको छ। सन् २०१६ मा भारतभर ४० हजार बलात्कारसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।