बलुचिस्तान– पाकिस्तानको बलुचिस्तानस्थित पूर्वी क्वेटामा कोइला खानी भत्किदाँ पुरिएर कम्तिमा १६ खानी मजदुरको मृत्यु भएको छ। क्वेटाको मरवारहमा भएको सो घटनामा अन्य ९ जना घाइते भएको प्रहरीले जनाएको छ।
ग्यास विस्फोटका कारण खानी भत्किएको सरकारी अधिकारीहरुले बताएका छन्। उनीहरुले घटनास्थलमा उद्धार टोली पुगेर शव निकाल्ने तथा घाइतेहरुलाई अस्पताल पुर्याउने काम गरिरहेको बताएका छन्।
बलुचिस्तान खनिज पदार्थका लागि धनी मानिन्छ तर खानीहरुमा भने निकै कमजोर सुरक्षा संयन्त्र अपनाइने गरिएको पाइन्छ।

‘मिथेन ग्यास विस्फोटपछि खानीको माथिल्लो भाग भत्किएकोले खानीभित्र काम गरिरहेका १६ जनाको मृत्यु भएको र ९ जना घाइते भएका छन्। जसमध्ये २ जनाको अवस्था गम्भीर छ।’, सरकारी अधिकारी जावेद शाहानीले बताए।
उनले छिटोभन्दा छिटो शव निकाल्ने कोशिष गरिरहेको तर धेरै गहिराइमा शव पुगेकोले बढी समय लागिरहेको जानकारी दिए। अर्का एक पाकिस्तानी अधिकारीका अनुसार सो क्षेत्रमा खानी मजदुरको रुपमा काम गर्नका लागि छिमेकी जिल्ला शांग्लाबाट स्थानीयहरु आउने गर्दथे।
यसअघि सन् २०११ मा बलुचिस्तानमा भएको यस्तै घटनामा परी ४० जनाभन्दा बढीको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।