मस्को– रूसको राजधानी मस्कोको मध्यभागमा राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकाल सम्हाल्न केही दिन बाँकी रहँदा उनकोविरूद्ध निकालिएको जुलुसमा सहभागी भएको आरोपमा रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नी, निकोलाई ल्यासकिनसहित कम्तिमा ३ सय ५० जना प्रदर्शनकारीलाई शनिबार पक्राउ गरिएको छ।
रूसी राष्ट्रपतिले आगामी सोमबार चौथो कार्यकालको लागि सपथ खाने कार्यक्रम छ।
राष्ट्रपति पुटिनका विरुद्ध ४१ वर्षीय नेता नाभाल्नीसहित ठूलो मासले मध्य–मस्कोमा प्रदर्शन गर्दै उत्तेजित नारा लगाएको प्राप्त सूचनामा जनाइएको छ। उनीहरूले नेता नाभाल्नीसहित अन्य सहभागीलाई पक्राउ गरेपछि सन् २०१४ मा क्रेमलिन समर्थक युक्रेनी शासकलाई पदच्युत गर्न प्रभावकारी मानिएका नारा लगाएका बताइएको छ।
जुलुस सुरू हुनु पूर्वनै प्रहरीले सहभागीलाई तितरवितर पार्न हतियार चलाउनसक्ने चेतावनी दिएको थियो।
प्रदर्शनकारीले ‘चौथो कार्यकाल जनता जेलमा धिक्कार छ’ भन्ने भावका नारा लगाउँदै जुलुसमा उल्लेख्य सहभागिता जनाएका एएफपी सम्वाददाताले बताएका छन्।
रूसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सवर्गमा पनि हजारौँको सङ्ख्यामा निस्केको जुलुसमा ‘जारको पतनसँगै रूस स्वतन्त्र हुनेछ।’ भन्ने नारा लागेको थियो। रूसमा पुटिनका विरोधीहरूले उनलाई ‘नवजार’ को रूपमा लिने गर्छन्।
केहीले अर्को ६ वर्ष रूसको दुर्दशा र इन्टरनेटको स्वतन्त्रताका लागि सङ्घर्ष भन्ने नारा बोकेर जुलुसमा सहभागिता जनाएका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।