हवाई– अमेरिकाको हवाई प्रान्तमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ। ६ दशमलब ९ रेक्टर स्केल मापन गरिएको भूकम्पका कारण केहि घरहरुमा क्षति पुग्नुका साथै केहि सडक चर्किएको बताइएको छ।
शुक्रबार दिउँसो १२ः३३ मा हवाईको बिगल्यान्डस्थित किलाउइया केन्द्रबिन्दु रहेको भूकम्प ४३ वर्ष यताको सबैभन्दा शक्तिशाली भएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग(युसजिएस)ले बताएको छ। यसअघि सन् १९७५ मा सोहि स्थानलाई केन्द्रबिन्दु बनाएर ७ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो।

ज्वालामुखी सक्रिय क्षेत्र मानिने किलाउइयालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएकोले शुक्रबार दिनभरजसो नै सो क्षेत्रमा ज्वालामुखी फुटेर लाभा निस्किएको सहजै देख्न सकिन्थ्यो। बस्ती, सडक तथा जंगललगायतका क्षेत्रमा पनि जमिन चिरिएर लाभा तथा सल्फरडाइअक्साइड ग्यास बाहिर निस्किएको थियो। ज्वालामुखीका कारण मात्र २ वटा घर क्षतिग्रस्त भएको स्थानीय प्रहरीले जनाएको छ।
यद्यपि किलाउइया पहाड तथा तालमा भने करिब २ साताअघि देखि नै ज्वालामुखी सक्रिय रहेको युसजिएसले जनाएको छ।
ग्यास तथा लाभाबाट असुरक्षित हुने भन्दै स्थानीय प्रशासनले सो स्थानबाट करिब १५ सय स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ। बस्तीभित्रै जमिन चिरिएर निस्किएको सल्फरडाइअक्साइड ग्यासका कारण छट्पटी महशुष हुने, घाँटी खसखस हुने, रुघा लाग्ने, आँखा पोल्ने, श्वास लिन गाह्रो हुने तथा कफ निस्कनेजस्ता समस्या देखिने हुँदा स्थानीयलाई सो क्षेत्रबाट अन्यत्र सारिएको बताइएको छ।

भूकम्पपछि सो क्षेत्रमा ठूलो सुनामी आउने कुनै पनि खतरा नरहेको प्रशान्त महासागरस्थित सुनामी सुचना केन्द्रले जनाएको छ। तर बिग ल्यान्ड क्षेत्र वरपर केहि मात्रामा सामुद्रिक छालहरु आउने संकेत देखिएको केन्द्रले बताएको छ।
भूकम्प तथा जवलामुखीका कारण सामान्य बाहेक सडकमा कुनैपनि नोक्सानी नभएको यातायात विभागले जनाएको छ। तर हवाईस्थित विद्युत वितरण केन्द्रकी प्रवक्ता रेया लि मोकोका अनुसार प्रशारण लाइनमा समस्या देखिएकोले करिब १४ हजार नागरिक विद्युत सेवाबाट वञ्चित हुनुपरेको छ। मर्मतको कार्य चलिरहेकोले त्यसमध्ये आधा सेवाग्राहीले केहि समयपछि नै सो सेवा लिन पाउने उनको भनाइ छ।

यसअघि शुक्रबार बिहान पनि सो क्षेत्रमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको थियो। अमेरिकी भौगर्भिक सर्वेक्षण विभागकी भूगर्भविद जाना पर्सलीले बिहीबार दिउँसोदेखि सो क्षेत्रमा सानाठूला गरि कुल १ सय १९ वटा भूकम्प महशुष भएको जानकारी दिइन्।
बसोबास क्षेत्रमा ज्वालामुखी फुटेकाले लाभा निस्किएको हेर्नुका साथै स्थानीयहरुले फोटो तथा भिडियो खिचेका थिए। कतिपय स्थानीयले यती नजिकैबाट कहिल्यै पनि ज्वालामुखी विस्फोट भएको नदेखेको भन्दै आश्चर्य प्रकट गरेका थिए।












नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।