वासिंगटन– उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने ऐतिहासिक भेटवार्ताको मिति र स्थान तय भएको छ। शुक्रबार राष्ट्रपति कार्यालय ह्वाइट हाउसअघि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले भेटवार्ताको मिति र स्थान तय भएको खुलासा गरेका हुन्।
‘अब भेटवार्ताका लागि मिति तथा समय दुवै निश्चित भइसकेको छ।’, उनले भने,‘यसको घोषणा हामी छिट्टै गर्नेछौं।’ सो क्रममा उनले वार्ताबाट ‘निकै सकारात्मक’ कुराहरु बाहिर आउनेमा आफु विश्वस्त रहेको बताए।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमलाई भेट्नुअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जाई उनलाई भेट्ने बताइएको छ। किम जोङसँगको वार्ताका एजेन्डालगायतका विषयवस्तुमाथि छलफल गर्न राष्ट्रपति ट्रम्पले आगामी मे २२ मा ह्वाइट हाउसमा राष्ट्रपति मुनलाई स्वागत गर्नेछन्।
किम–ट्रम्पबीच हुने ऐतिहासिक वार्ता मे महिनाको अन्तिम वा जुनमा हुनसक्ने बिबिसीले लेखेको छ। स्थानका बारेमा भने राष्ट्रपति ट्रम्पले यसअघि नै ट्विट गर्दै उत्तर र दक्षिण कोरियाको संयुक्त सैन्य नियन्त्रित सीमा क्षेत्रमा बैठक बस्नसक्ने संकेत दिएका थिए। पछिल्लो समय बैठक स्थल सिंगापुर पनि बन्नसक्ने बताइएको छ।
गत मार्चमा दक्षिण कोरियाली उच्च अधिकारीहरुको टोलीले प्योङयाङको भ्रमण गरेपछि किम–ट्रम्पको वार्ता हुने तय भएको थियो।
वार्ताबाट अमेरिकाले उत्तर कोरियालाई पूर्णरुपमा आणविक निःशस्त्रीकरण क्षेत्र सुनिश्चित भएको हेर्न चाहेको छ। दुवै नेताहरुबीच वार्ता हुनुअघि उत्तर कोरियामा रहेका ३ जना अमेरिकी बन्धकको रिहाइका लागि दुवै देशका अधिकारीहरुबीच निरन्तर वार्ता भइरहेको पनि उनले बताए। ‘उत्तर कोरियासँग हाम्रो निकै सौहार्द रुपमा वार्ता चलिरहेको छ। बन्धकको रिहाइ गर्ने हकमा केहि सकारात्मक कुराहरु यसअघि नै बाहिर आइसकेका छन्’, ट्रम्पले भने।
उनले दक्षिण कोरियामा अमेरिकी सैनिक रहने–नरहने सम्बन्धमा भने केहि बताउन चाहेनन्। यसअघि दक्षिण कोरियाले अमेरिकी सैनिकले तत्कालै आफ्नो देश नछोड्ने प्रष्ट पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।