प्योङयाङ– दक्षिण कोरियाको ‘टाइम जोन’सँग समान हुने गरि उत्तर कोरियाले आफ्नो समय परिवर्तन गरेको छ। गत साता दुई कोरियाली प्रमुख नेताबीच भएको शिखर बैठकपछि उत्तर कोरियाले दक्षिणसँग समान ‘टाइम जोन’ बनाउने घोषणा गरेको थियो।
कोरियाली एकताका लागि यो ‘पहिलो व्यवहारिक कदम’ भएको उत्तरको सरकार नियन्त्रित समाचार संस्था केसिएनएले जनाएको छ।
स्थानीय समयअनुसार शुक्रबार राती साढे ११ बजेको समयमा घडीमा ३० मिनेट छिटो गर्दै मध्यरातको १२ बजेको बनाइएको थियो। यसअघि उत्तर कोरियाको समय दक्षिण कोरिया र जापानको भन्दा ३० मिनेट ढिलो थियो।
सन् २०१५ मा उत्तर कोरियाले जापानकोभन्दा ३० मिनेट समय ढिलो हुनेगरि आफ्नो ‘टाइम जोन’ परिवर्तन गरेको थियो। कोरियाली प्रायद्विप कुनैबेला जापानको नियन्त्रणमा रहेको हुँदा जापानको ‘टाइम जोन’सँग समान हुनेगरि व्यवस्था गर्नुपर्ने नियम छ।
सन् १९५० मा जापानको ‘टाइम जोन’बाट बाहिरिएको दक्षिण कोरिया १० वर्षपछि पुनः जापानकै ‘टाइम जोन’ मा फर्किने निर्णयमा पुगेको थियो। दक्षिण कोरियाको समय ग्रिनविच समयभन्दा ९ घण्टा अगाडि छ।
दुवै कोरियाको ‘टाइम जोन’ समान बनाइएपछि सीमा क्षेत्र पानमुनजोममा दुवै देशले आफ्नो क्षेत्रमा समान समयसूचक भएको घडी राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।