स्टकहोम– यौनहिंसा विरोधी अभियानबाट सिर्जित सङ्कट समाधान गर्न नसक्दा नोबेल साहित्य पुरस्कार वितरण सुरू भएको ७० वर्षको इतिहासमा यस वर्ष पहिलो पटक उक्त पुरस्कार नदिइने भएको छ।
‘हामीले पुरस्कार छनौटमा जनमानसको आत्मविश्वास पुनः प्राप्त गर्न अर्को पुरस्कृत व्यक्तित्वको चयन गर्नुपूर्व थप समय समर्पित भएर लाग्नुपर्ने देखिएकोले यस वर्षको नोबेल साहित्य पुरस्कारलाई स्थगित गर्ने निर्णय गरेका छौँ,’ ‘स्वीडिस एकेडेमी’ का अन्तरिम स्थायी सचिव एन्डर्स ओल्सनले शुक्रबार एक विज्ञप्तिमार्फत जानकारी दिए। उनले सन् २०१९ मा दुबै पुरस्कार एकैसाथ घोषणा गरिने बताए।
यौनहिंसा विरूद्ध विश्वव्यापी रूपमा चलाइएको ‘मि टु क्याम्पियन’ अन्तर्गत विभिन्न १८ महिलाले आफूहरू स्वीडेनी सांस्कृतिक क्षेत्रमा काम गर्ने प्रभावशाली व्यक्तित्व जाँ–क्लाउड अरनोल्टबाट बलात्कृत वा यौन आक्रमणमा परेको भन्ने भनाइका विषयमा स्वीडेनी पत्रिका ‘डगेन्स निहेटर’ले समाचार बाहिर ल्याएपछि गत नोभेम्बरदेखि एकेडमी विवादमा तानिएको थियो।
एकेडेमीका सदस्य तथा कवयित्री कटरिना फ्रोस्टेनसनका फ्रान्सेली श्रीमान् अर्नोल्टले आरोपको नियमित रूपमा खण्डन गर्दै आएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।