सिओल– दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुगेका छन्।
उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच केही साताभित्रै उच्चस्तरीय वार्ता हुन लागेको समयमा त्यसको अगाडि दक्षिण कोरियाका राष्ट्रपतिका सल्लाहकारले अमेरिकाकाको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ।
उनले शुक्रबार अमेरिकी राष्ट्रिय सल्लाहकारलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। उनले शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका सुरक्षा सल्लाहकारसँग पनि भेटवार्ता गर्ने समाचारमा जनाइएको छ।
तर सो भ्रमणका बारेमा आधिकारिक सुचना भने सार्वजनिक गरिएको छैन। यस भ्रमणका क्रममा उनले गत शुक्रबार उत्तर कोरियाली नेता किम जोङ उनको दक्षिण कोरिया भ्रमणका समयमा भएका सहमति र सम्झौताको बारेमा कुराकानी गर्ने बताइएको छ।
गत शुक्रबार अर्थात अप्रिल २७ मा उत्तर र दक्षिण कोरियाबीच शान्ति सम्झौता गर्ने सहमति भएको छ। सो सहमतिअनुसार दुई देशले युद्ध अन्त्यको घोषणा गरी एक अर्काको विरुद्धमा प्रचारप्रसार नगर्ने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने सहमति जनाएका छन्।
अमेरिका र उत्तर कोरियाबीच पनि आगामी केही हप्तामा वार्ता हुने बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नैउत्तर कोरियासँग आगामी केही हप्ताभित्र वार्ता गर्ने बताएका थिए।
उनले उत्तर र दक्षिण कोरियाबीचका वार्ताहरु सकारात्मक रुपमा अघि बढिरहेकोले उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ता गर्न अमेरिका तयार भएको पनि प्रष्ट पारेका थिए।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पनि हालै एक विज्ञप्ति प्रकाशन गरी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग वार्ता गर्नुहुने भएको र सो वार्ताको मिति चाँडै तय गरिने बताएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।