नयाँ दिल्ली– उत्तर भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ९५ जनाको मृत्यु भएको छ।
हावाहुरीका कारण धेरै स्थानमा विद्युत सेवा अवरुद्ध हुनुका साथै ठूलो संख्यामा रुख ढलेका छन् भने घर तथा कार्यालयका पर्खालहरु पनि भत्किएका छन्। उत्तर प्रदेश र राजस्थान राज्यमा यस्तो आँधी आएको हो।
त्यसमा परी १ सय ४३ जना घाइते भएका छन्। घाइतेहरु तथा मृत्यु हुनेको संख्या अझै धेरै रहेको अनुमान गरिएको छ। यस हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन।
प्राप्त समाचारमा उत्तर प्रदेशमा ६४ र राजस्थानमा ३१ जनाको ज्यान गएको बताइएको छ। उत्तर प्रदेशको आग्रा जिल्लामा मात्रै ४३ जनाको मृत्यु भएको छ। अधिकारीहरुले केही व्यक्ति हराइरहेका पनि बताएका छन्।
उत्तर प्रदेशको आग्रा जिल्लाबाट ताजमहल जाने बाटो बढी प्रभावित भएको छ। त्यहाँ बढीजसो नागरिक रुख ढलेर र रुखका हाँगा भाँचिएर घाइते भएका छन्। हावाहुरीबाट राजस्थानका भरतपुर, ढोलापुर, अलवारलगायतका जिल्लाहरु बढी प्रभावित बनेका छन्। ढोलापुरका विद्यालयहरु बन्द गर्ने स्थानीय प्रशासनले घोषणा गरेको।
ती दुवै राज्यका कम्तीमा पनि ७५ जिल्लामा यस हावाहुरीले ठूलो क्षति पुर्याएको राजस्थानका प्रहरी प्रमुखले जानकारी दिएका छन्।
घटनापछि उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले उद्दार र राहत कार्यमा जुट्न सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन्। राहत कार्यदलका कमिस्नर सन्जय कुमारले सबै जिल्लाबाट घटनामा प्रभावितहरुको तथ्यांक मगाइएकोले पूर्ण आकँडा प्राप्त हुन केहि समय लाग्ने बताएका छन्।
तत्कालका लागि भन्दै मृतकका परिवारका लागि उत्तर प्रदेश सरकारले जनही ४ लाख राहत दिने घोषणा गरेको छ।
राजधानी नयाँ दिल्लीमासमेत करिब १ सय किलोमिटर प्रतिघन्टाको गतिले हुरी चलेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।