काठमाडौं– गत सोमबार अफगानिस्तानको काबुलमा आत्मघाती बम हमलामा मारिएका पत्रकारहरुको सम्झनामा नेपाल पत्रकार महासंघ र फोटो जर्नलिष्ट क्लब नेपालले काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको छ।
दीप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, पदाधिकारीहरु, पूर्व अध्यक्षहरुसहित प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, एसोसिएट संस्था, रिपोर्टस क्लब लगायतका पत्रकारसम्बद्ध संस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता थियो।
बम हमलामा परी अफगानिस्तानमा एएफपीका फोटोपत्रकार शाह मराईलगायत ९ जना पत्रकारको ज्यान गएको थियो। त्यसैगरी दक्षिण अफगानमा बीबीसीका पत्रकार अहमद साह मारिएका थिए।

काबुलस्थित नाटोको मुख्यालय र अमेरीकी दूतावास नजिकै भएको बम विष्फोटनको समाचार संकलन गरिरहेको अवस्थामा क्यामरासहित पत्रकारको भेसमा मोटरसाइकलमा आएका आत्माघाती हमालाकारीहरुले पत्रकारहरुलाई लक्षित गरी विष्फोट गराएका थिए।
काबुल घटनामा पत्रकारसहित २५ जना मारिएका थिए। घटनाको आतंकवादी समूह आइएसले जिम्मेवारी लिएको थियो।
विस्फोटमा मारिने पत्रकारहरु
शाह मराई, एएफपी
यर महोमद तोखी, टोलो न्यूज
महाराम दुरानी, रेडियो फ्री युरोप
अब्दुला हाननजई, रेडियो फ्री युरोप
सबाउन काकर, रेडियो फ्री युरोप
गाजी रासौली, वान टिभी
नरुज अली राजबी, वान टिभी
सलिम तलास, मासाल टिभी
अली सालमी, मासाल टिभी
अमहद शाह, बिबिसी



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।