त्रिपोली– लिवियाको निर्वाचन आयोगको कार्यालयमा भएको आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ।
राजधानी त्रिपोलीमा रहेको कार्यालयमा बुधबार हिंसात्मक आक्रमण भएको अधिकारीहरुले जानकारी दिएका छन्। लिवियाको स्वास्थ्य मन्त्रालयले १४ जनाको मृत्यु भएको र अरु १० जना घाइते भएको पुष्टि गरेको छ।
आक्रमणबाट आयोगको कार्यालय भवन पूर्णरुपमा ध्वस्त भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्। इस्लामिक स्टेट (आइएस)का लडाकूहरुले कार्यालयमा आक्रमण गरेको अधिकारीहरुले दाबी गरेका छन्। आत्मघाती बम हमलाकारीहरुले बुधबार बिहान आक्रमण गरेका हुन्।
संयुक्त राष्ट्रसंघीय मिसनको सहयोगमा लिवियामा यस वर्षको अन्त्यतिर राष्ट्रपति र संसदको निर्वाचनको तयारी भइरहेको छ। रासस/एएफपी/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।