काठमाडौं- नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा गहिरिँदो संकटको दोषी आफू नभएको स्पष्टोक्ति दिएका छन्। ललितपुरको अँगेनो बेकरी भेलामा बोल्दै दाहालले पार्टीमा आएको पछिल्लो संकटको दोषी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली नै रहेकाले निकास पनि उनले नै दिनुपर्ने बताए।
बेलुका साढे ५ बजे आफूले बोलाएको भेलामा उपस्थित नेताहरुलाई उनले आफू कसरी अघि बढ्ने भन्ने विषयमा सुझाव लिएका थिए। ‘पार्टी र सरकारमा जुन किसिमको जटिलता आयो। त्यसमा मेरो कुनै संलग्नता छैन। यो सबै जटिलता प्रधानमन्त्री ओलीजीले नै निम्त्याउनु भएको हो। मैले कसरी अघि बढ्नुपर्छ तपाईंहरु सुझाव दिनुहोस्,' प्रचण्डको भनाइ उद्घृत गर्दै बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने।
उनले कसरी पार्टी एकतालाई मजबुत बनाएर अगाडि बढ्ने भन्ने विषयमा आफूलाई सल्लाहको जरुरी भएर भेला बोलाएको बताएका थिए। ''कतिपयले मैले नै पार्टी र सरकारमा अस्थिरता मच्चाएको भनेर प्रचार गरिरहेका छन्। त्यसमा कुनै सत्यता छैन' भनी अध्यक्ष प्रचण्डले भन्नुभयो,' ती नेताको भनाइ छ।
प्रचण्डले आफूबाहेक सबैलाई गैरराष्ट्रवादी कित्तामा उभ्याउन खोजेर कमजोरीलाई लुकाउने प्रयास गरेको आरोप पनि लगाएका छन्। उनले अरु राष्ट्रवादी नरहेको जसरी प्रधानमन्त्री ओली प्रस्तुत भएको भन्दै गुनासो गरेका थिए।
भेलामा वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीलाई आफूले लामो समयदेखि चिन्दै र बुझ्दै आएको बताउँदै उनको राजीनामाको विकल्प नभएको बताएका थिए। उनलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा नदिए वर्तमान संकटको निकास ननिस्कने बताए। ‘प्रधानमन्त्रीको अहंकार र दम्भको कारण सम्पूर्ण समस्या निस्किएको भन्दै सो परिणाम स्वयं उनैले भोग्नुपर्ने खनालजीले बताउनुभयो,’ भेलामा सहभागी ती स्थायी कमिटी सदस्यले भने।
अर्का वरिष्ठ नेता माधवकुमार नेपालको खनालसँग सहमति थियो। उनले पार्टी र सरकार दुवैलाई संकटमा ओली स्वयंले पारेको बताए। पार्टीलाई पद्धतिअनुसार नचलाएको र सरकारमा मनोमानी बढेको बताउँदै राजीनामा भन्दा अर्को विकल्प नदेखेको उल्लेख गरेका थिए। ओली क्याबिनेटका गृहमन्त्री रामबहादुर थापाले पनि सरकार परिवर्तन गर्ने अवस्था आइसकेको बताएका थिए। सरकारले राम्रा काम गर्दागर्दै पनि परिस्थितिले सरकार परिवर्तन गर्ने अवस्थामा पुर्याएको उनले बताएका थिए।
यस्तै स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा गराउँदा पार्टी एकता संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरे। प्रधानमन्त्री ओलीको काम गर्ने शैलीका विषयमा चित्त बुझाइ नभएपनि दुवै पदबाट राजीनामा गराउँदा अन्य खतरा निम्तिनेतर्फ उनले सचेत गराए। कृषिमन्त्री घनश्याम भुषालले पनि रायमाझीले जस्तै भनाइ राखेका थिए। भुषाललाई उद्धृत गर्दै ती नेताले भने, ‘प्रधानमन्त्रीज्यू समस्यामा हुनुहुन्छ। यस समयमा प्रधानमन्त्रीलाई दुवै पदबाट हटाउँदा राम्रो सन्देश जाँदैन। यसर्थ सोचेर आवश्यक निर्णय लिनुहोला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।