मैथिली साहित्यकार तथा पत्रकार ॐकुमार झा अब यस धरामा छैनन् । पारिवारिक सदस्यका अनुसार उनले ८९ वर्षको उमेरमा यही भदौ १ गते महायात्रातर्फ प्रस्थान गरेका छन् । उनको योगदान साहित्य तथा पत्रकारितासम्म मात्र सीमित छैन समाजले उनको मूल्यांकन भाषिक तथा सामाजिक अभियन्ताका रुपमा पनि सुदूर भविष्यसम्म गर्नेछ । मैथिली भाषा र साहित्यका एक प्रमुख हस्ताक्षरका रुपमा स्वीकृत ॐकुमार साहित्यमा कवि तथा हास्य–व्यङ्ग्यकारका रुपमा सुपरिचित छन् । मैथिली साहित्यतर्फ विशेष गरी हास्य–व्यङ्ग्य विधामा उनको अतुलनीय योगदान छ ।
वि सं २०२७ तिरको सन्दर्भ हो । देशको राजनीति कठिन थियो । लोकतन्त्र अपहरित अवस्थामा थियो । जनताका अनेकौं अधिकार नियन्त्रित थिए । समाज एक किसिमले बन्दजस्तै थियो । समाज रुपान्तरणका लागि जनचेतना र विचार निर्माण अपरिहार्य थियो र यसका लािग पत्रकारिता एह सशक्त माध्यम हुन सक्थ्यो, तर प्रेस स्वतन्त्रता बाधित थियो । उनले यस विषम परिस्थितिमा पत्रकारिता गर्ने निर्णय गरे र हास्य–व्यङ्ग्यको आगो ओकल्दै विचार निर्माण तथा प्रस्तुत गर्ने निश्चय गरे । नेपाली भाषाकै पत्रकारिताले अनेकखाले चुनौती वेहोरिरहेको अवस्थामा झाले मैथिली भाषामा पत्रकारिता गरेर आफ्नै भाषाका माध्यमले आफ्नो सामाजलाई निर्देशित गर्ने संकल्प गरे । आफैले आफ्नालागि निर्दिष्ट गरेको यो अभिभाराको निर्वहन साँच्चै सहज थिएन, तर उनले प्रयास गरे । केही हदसम्म सफल पनि भए ।
धनुषा जिल्लाको हाल जनकपुरधाम उपमहानगरपालिका, वडा नं. २३ बिन्धी गाउँका निवासी, उनको संयोजनमा २०२७ सालमा ‘इजोत’ अर्थात उज्यालो नामक एक द्वैमासिक पत्रिका प्रकाशन भयो । सम्पादकको भूमिका निर्वाह गरेका झाले त्यस पत्रिकामा आफ्नो नाम ॐकुमार झा लखे । सामाजिक स्वीकृतिका लागि एकजना वरिष्ठ व्यक्तित्य आवश्यक पर्ने अनुभव गरी प्रा डा हरिदेव मिश्रले प्रधान सम्पादकके जिम्मेबारी स्वीकार गरे । झाले आफ्नो भूमिका यतिमा मात्र सीमित राखेनन् । आँटिला, हक्की र दृढनिश्चयी स्वभावका व्यवस्थापकीय क्षमताका धनी ॐकुमारले यस पत्रिकाको प्रकाशनसमेतको जिम्मेबारी ग्रहण गरे । त्यसो त प्रकाशकमा नाम थियो शुभकान्त झा र श्रीमती राधा झाको ।
तर घुमाउरो पाराले उनी स्वयं प्रकाशन कार्यसँग सम्बन्धित थिए । ॐकुमार झाका कान्छा सुपुत्र रुपकनन्दनका अनुसार श्रीमती राधा झा उनकी आमा हुन अर्थात ॐकुमारकी पत्नी । यस आधारमा भन्न सकिन्छ, पत्नीको नाम राखेर यस पत्रिकाको प्रकाशनको जिम्मेबारी उनी स्वयंले स्वीकार गरेका थिए । प्रति अंकको पचास कैंचा (पैसा) र वार्षिक ३ टका (रुपियाँ) शुल्क राखिएको यो पत्रिकाको कति अंक प्रकाशन हुन सक्यो त्यो त अनुसन्धानकै विषय हो । तर जे जति प्रकाशन हुन सक्यो, यसको अध्ययन नगरी नेपालको मैथिली पत्रकारिताको चर्चा पुरा हुन सक्दैन । सहजै अनूमान लगाउन सकिन्छ एकजना राजनीतिक चेत भएका व्यक्तिले त्यो विषम र प्रतिकूल अवस्थामा पत्रकारिता गर्दै हास्य–व्यङ्ग्यका माध्यमले ‘हंगामा’मच्चाउन खोज्ने प्रयत्न गर्नु सहज थिएन । महत्वपूर्ण कुरो त के भने यसमा उनले साथले पाएका थिए पत्नी राधाको । त्यसैले त समाजमा उज्यालोका वाहक बनेर प्रकाशित हुने इजोतमा राधा प्रकाशिका बनिन । ती राधा पनि अब यस धरामा छैनिन । पुत्र रुपकका अनुसार २०७८ मा राधाको पनि देहावसान भइसेको छ र छ वर्षपछि ॐकुमारले पनि देहत्याग गरे । ॐकुमारको देहावसानसँगै एक प्रकारले इजोतको पुरै टिमले नश्वर शरीर त्याग गरिसकेको छ । टिम इजोत अब हामीबीच नरहे पनि त्यस प्रतिकुल कालखण्डमा साहित्य र पत्रकारिताका माध्यमले समाज रुपान्तरणको उज्यालो फैलाउने प्रयास सँधै नै प्रशंसनीय रहनेछ । आफ्नो अभियानका लागि एक सशक्त सगठननको आवश्यकता अनुभव गरेका उनले नेपाल मैथिली साहित्य परिषदको स्थापनाका सन्दर्भमा पनि सहजीकरण गरेका थिए । पुरातत्वविद गोपाल झाका अनुसार उनी उक्त परिषदको संस्थापकमध्येका हुन ।
पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता र साहित्यलाई एउटा नया दिशानिर्देश गर्ने प्रयत्न त गर्यो नै । गोपालका अनुसार उनले इजोतका माध्यमबाट आगो ओकल्ने प्रयत्न गरे । भाषिक र सामाजिक अभियन्ताको जिम्मेबारी स्वीकार गरे । गोपाल भन्छन्–यस पत्रिकाको पहिलो अंकमा झटहा उपनामले एक व्यङ्ग्य रचना प्रकाशित छ । त्यो रचना स्वयं ॐकुमार जी कै हो ।
मैथिली सहित्यमा व्यङ्ग्यकारका रुपमा स्थापित साहित्यकार विनोचन्द्र, ॐकुमार जीबाटै प्रभावित भएर आफू व्यङ्ग्य रचनातर्फ आकर्षित भएको सम्झन्छन् । उनका अनुसार ॐकुमार झटहा झा ओकु उपनामले पनि चिनिन्थे । यस नामले उनका रचना प्रकाशित हुनुका साथै अनेकौ मञ्चमा उनका रचना उनी स्वयं र अन्यद्वारा वाचित भएका छन् । ॐकुमार झाको मूल्याकन गर्दै विनोचन्द्र भन्छन्– उनी निडर र हक्की थिए । आफ्ना रचनाका माध्यमबाट जस्तै जटील कुरा पनि सहजरुपमा भन्न सक्ने खुवी थियो उनमा । उनी साहित्य र पत्रकारिता दुबैमा बाँच्न खोज्थे ।
साहित्य रचना त माध्यममात्र थियो । उनी पत्रकारितामा समर्पित हुन चाहने व्यक्तित्व थिए । उनले रेडियो नेपालमा लामो समयसम्म (शायद २९÷३० सालतिर) कृषि कार्यक्रम चलाए । यो कार्यक्रम चलाउने सन्दर्भमा उनले सामग्री निर्माण, स्रोतको पहिचान र खोजी, समग्र प्रस्तुतिको कार्य गर्थे । विनोदचन्द्र भन्छन्–उक्त कार्यक्रममा उनी स्वयं जेटिए बाबु बनेर श्वर प्रदान गरेको मलाई थाहा छ । यतिमा मात्र उनको पत्रकारिता र सञ्चारकर्मको चर्चा समाप्त हुँदैन । पुत्र रुपकका अनुसार पत्रकार झाले २०५२ तिर जनकपुरबाट मिथिलाञ्चल मासिकको पनि केही समय प्रकाशन र सम्पादन गरेका थिए ।
माथि पनि चर्चा गरियो, उनीे मैथिली कविता, हास्य–व्यङ्ग्य र गद्य विधामा निरन्तर सक्रिय रहँदै आएका थिए । उनका रचनामा सामाजिक विकृति, राजनीति र जनकपुरको सांस्कृतिक परिवेशमाथि उनको तीक्ष्ण कटाक्ष देख्न सकिन्छ । युवा पत्रकार र साहित्यकार नित्यानन्द मण्डल उनलाई सामाजिक र राजनीतिक चेत भएका एक सशक्त व्यक्तित्वका रुपमा मूल्यांकन गर्छन् । उनी सम्झन्छन–एकपटक झाले जनकपुरको जनक चोकमा आयोजित एक कवि गोष्ठीमा एउटा कविता पाठ गरेका थिए “हमरा मरखाहा साँढक उपाधी दिअ” अर्थात मलाई हनुवा गोरुको उपाधी देउ । म उक्त कविताबाट निकै प्रभावित भएको थिएँ । व्यङ्ग्यका माध्यमबाट सामाजिक अवस्थाको प्रस्तुति, जवर्दस्त रचना थियो त्यो । मण्डल थप्छन– विश्वास त लागिरहेको छैन, तर सत्य यही हो कि प्रखर मैथिली भाषा अभियन्ता, साहित्यकार एवं राजनीतिक, सामाजिक–सांस्कृतिक आन्दोलनकारी झा अब हामीबीच रहेनन् ।




मिथिला क्षेत्रका एक सामाजिक, साहित्यिक र बौद्धिक व्यक्तित्वका रुपमा चिनिने झा आफ्नो गाउँमा स्नातक तह अध्ययन गर्ने पहिलो व्यक्ति मानिनन्छन् । माथि चर्चा गरिएजस्तै उनले शिक्षा, सञ्चार, साहित्य र राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिए । पुरातत्वविद झाका अनुसार उनले लामो समय शिक्षण गर्नुका साथै पिसकोरमा उपनिर्देशकका रुपमा भूमिका निर्वाह गरे । मैथिलीका अतिरिक्त, नेपाली, हिन्दी र अंग्रेजी भाषाका जानकार उनले पिसकोर स्वयसेवकका लागि भाषा शिक्षक र अनुवादकको काम पनि गरेका थिए । प्रसिद्ध भाषावैज्ञानिक डा. रामावतार यादवका अनुसार हास्य–व्यङ्ग्यले भरिएका प्रहसनमुखी रचना गर्ने उनी मैथिली भाषाका एक प्रतिबद्ध अभियन्ता र सिपाही थिए ।
शयद २०४८÷४९ तिरको कुनै महिना हुनुपर्छ । मैले उनलाई पहिलो पटक जनकपुरस्थित जानकी मन्दिरको प्रांगणमा आयोजित एउटा कवि गोष्ठीमा भेटेको थिएँ । होचो कद, झुस्स दाह्री, अनुहारमा चस्मा, धोती कुर्ताको पहिरन, काँधमा गम्छा र झोला भिरेका बम्बैया फिल्मका पत्रकारजस्ता देखिने व्यक्तित्व । उनले वाचन गरेको कविताबाट म निकै प्रभावित भएको थिएँ । मैले पनि कविता वाचन गरेको थिएँ । कार्यक्रमपछि मेरो प्रशंसा गर्दै उनले साहित्य रचनामा निरन्तर क्रियाशील रहन प्रेरित गरेका थिए । म स्वीकार गर्छु उनको पत्रकारिता र साहित्यकर्मबाट म कुनै न कुनै रुपमा प्रभावित छु ।
मैले चिनेको ॐकुमार झा राजनीतिमा पनि रुची राख्दथे । संसदको यात्रा तय गर्नका लागि संसदीय निर्वाचनमा चुनावमा उम्मेदवारका रुपमा सहभागी भएका थिए उनी । लोकतन्त्रप्रति प्रतिबद्ध झा मधेश र मैथिलीभाषीको अधिकार प्राप्तिका लागि फरक धारको राजनीतिमा सक्रिय थिए । एक पटक उनले मलाई भनेको म सम्झन्छु–लोकतन्त्रको विकल्प छैन तर कांगेसले लोकतन्त्रको आफ्नो मान्यतामा परिवर्तन गर्नु जरुरी छ । उनी नेपाल सद्भावना पार्टीको बौद्धिक मञ्चको केन्द्रीय अध्यक्षका रूपमा लामो समय सक्रिय रही सामाजिक चेतना र अधिकार प्राप्तिका लागि अग्रसर रहेका थिए ।
हास्य–व्यङ्गय विधालाई समाज निर्माणको प्रक्रियासँग जोड्ने प्रयत्न गरेका झाले यो विधाको संस्थागत प्रवद्र्धनमा पनि भूमिका निर्वाह गर्ने प्रयास गरेका थिए । होली (फागु ) पर्वको अवसरमा जनकपुर क्षेत्रमा हास्य–व्यङ्गयसँग सम्बन्धित महामुर्ख सम्मेलनको आयोजन गर्ने मिथिला नाट्यकला परिषदको अध्यक्ष सुनीलकुमार मल्लिकका अनुसार झाको योगदानको मूल्यांकन गर्दै वि.सं. २०६१ (सन् २००५) मा उनलाई महामूर्ख उपाधिबाट सम्मानित गरिएको थियो ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी भन्छन्–मिथिला समाजका लागि झाको योगदान महत्वपूर्ण छ । पछिल्लो समयमा एक प्रकारले ‘गुमनाम’जीवन बिताइरहेका झा आजीवन मैथिली भाषाको संवैधानिक मान्यता, पठनपाठनमा मैथिलीको प्रयोग र स्थानीय तथा राष्ट्रिय स्तरमा मैथिली भाषाको अधिकार स्थापित गर्न निरन्तर आन्दोलनरत रहे । जनकपुर, काठमाडौँ र आसपासका क्षेत्रमा मैथिली चेतना जगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका झाले देखाएको बाटोमा मैथिलीभाषी अग्रसर हुनु उनीप्रतिको साँचअे अर्थमा श्रद्धाञ्जलि हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।