काठमाडौं। अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बुर्किना फासोलाई पराजित गर्दै लगातार दोस्रो प्रभावशाली जित निकालेको छ।
आइतबार मोनुमेन्टल रंगशालामा भएको खेलमा अर्जेन्टिनाले सुरुदेखि अन्तिमसम्म दबदबा कायम राख्दै ७–० को जित निकालेको हो।
खेल सुरु भएको चौथो मिनेटमै अगुस्टिन जियालाई पेनाल्टी क्षेत्रमा मोउमोउनी डियालोले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो। लाउटारो मार्टिनेजको पहिलो प्रहार बुर्किना फासोका गोलरक्षक रजाक गुइराले बचाए पनि रिबाउन्डमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।
अर्जेन्टिनाले आठौं मिनेटमा अग्रता दोब्बर बनायो। डियालोको क्लियरेन्स आफ्नै पोस्टमा पुगेपछि बुर्किना फासोले आत्मघाती गोल गरेको थियो।
१२औं मिनेटमा जियानलुका प्रेस्टियानीले पेनाल्टी क्षेत्रमा प्रवेश गर्दै शक्तिशाली प्रहारमार्फत अर्जेन्टिनाका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरे।
३५औं मिनेटमा निकोलस पाजले गोल गर्दै अर्जेन्टिनाको अग्रता ४–० बनाए। त्यसको एक मिनेटपछि जुलियन अल्भारेजले गोल थपेपछि अर्जेन्टिना पहिलो हाफमै ५–० ले अघि रह्यो।
दोस्रो हाफमा पनि अर्जेन्टिनाको आक्रमण रोकिएन। ५७औं मिनेटमा मैदान प्रवेश गरेका फ्रान्को मस्तान्तुओनोले गोल गर्दै राष्ट्रिय टोलीका लागि पहिलो गोल गरे।
खेलको इन्जुरी समयको तेस्रो मिनेटमा जियोभानी सिमेओनेले सातौं गोल गरेपछि अर्जेन्टिनाले ७–० को फराकिलो जित सुनिश्चित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।